Mon. May 11th, 2026

बङ्गलादेशद्वारा पूर्वप्रधानमन्त्री शेख हसिना पार्टीको विद्यार्थी सङ्गठन प्रतिबन्धित   

       

ढाका, २०८१ कात्तिक ८ गते बिहीबार । जुलाई–अगस्ट विद्रोहको नेतृत्व गर्ने विद्यार्थी समूहको मागपछि पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगको निकट विद्यार्थी सङ्गठन ‘बङ्गलादेश छात्र लिग’लाई बङ्गलादेशको अन्तरिम सरकारले बुधबार प्रतिबन्ध लगाएको छ ।

एएनआईका अनुसार सरकारले “आतङ्कवाद विरोधी ऐन, २००९” को धारा १८ को उप–धारा (१) मा प्रदान गरिएको शक्ति अन्तर्गत बङ्गलादेश अवामी लिगको भ्रातृ सङ्गठन बङ्गलादेश छात्र लिगलाई प्रतिबन्ध लगाएको बङ्गलादेशको गृह मन्त्रालयले एक आधिकारिक आदेशमा जनाएको छ।

यसअघि मङ्गलबार पूर्वप्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गर्न नेतृत्वको समूह ‘एन्टी–डिस्क्रिमिनेशन स्टुडेन्ट मुभमेन्ट’ले बङ्गलादेशका राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजिनामासहित पाँच बुँदा मागको घोषणा गरेको थियो।

मागहरूमा अवामी लिगको विद्यार्थी सङ्गठन बङ्गलादेश छात्र लिगमाथि प्रतिबन्ध लगाउने पनि समावेश थियो ।

“बङ्गलादेशको स्वतन्त्रतापछि विभिन्न समयमा, विशेष गरी पछिल्लो १५ वर्षको तानाशाही शासनकालमा, बङ्गलादेश अवामी लिगको भ्रातृ सङ्गठन ’बङ्गलादेश छात्र लिग’ हत्या, यातना, साझा कोठामा उत्पीडन, छात्रावास, बलात्कार र यौन उत्पीडनलगायतका विभिन्न सार्वजनिक सुरक्षा सम्बन्धी गतिविधिहरूमा संलग्न रहेको छ”, बङ्गलादेशको गृह मन्त्रालयले जारी गरेको आदेशमा भनिएको छ ।

“यस सम्बन्धमा दस्तावेजी जानकारी देशका सबै प्रमुख मिडियामा प्रकाशित गरिएको छ र केही आतङ्कवादी घटनामा सङ्गठनका नेता एवं कार्यकर्ताहरू फौजदारी अदालतमा पनि प्रमाणित भएका छन्”, बुधबार साँझ जारी गरिएको आदेशमा भनिएको छ ।

Facebook Comments