Tue. Oct 22nd, 2024

सोलद्वारा रुसमा तैनाथ उत्तर कोरियाली सैनिकहरूको ‘तत्काल फिर्ती’ को माग   

सोल, २०८१ कात्तिक ५ गते सोमबार । दक्षिण कोरियाले सोमबार रुसी राजदूतलाई बोलाएर युक्रेनमा मस्कोको युद्धलाई समर्थन गर्न हजारौँ सैनिकहरू पठाउने प्योङयाङको निर्णयको आलोचना गर्दै उनीहरूको तत्काल फिर्तीको माग गरेको छ ।

सोलको गुप्तचर निकायका अनुसार करिब एक हजार पाँच सय उत्तर कोरियाली विशेष बलका सैनिकहरू पहिले नै रुसमा पुगेर अभ्यस्त हुँदैछन् र मोर्चामा जाने सम्भावना छ । साथै थप सैनिकहरू चाँडै प्रस्थान गर्ने तयारी छ । यो प्योङयाङको पहिलो यस्तो विदेशी तैनाथी हो ।

दक्षिण कोरियाले लामो समयदेखि आणविक–सशस्त्र उत्तर कोरियाले युक्रेनमा प्रयोग गर्न रुसलाई हतियार आपूर्ति गरिरहेको दाबी गर्दै आएको छ । साथै उसले सैनिक तैनाथीप्रति चिन्ता व्यक्त गरेको छ । यो कदम उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जुनमा सैन्य सम्झौतामा हस्ताक्षर गरेपछि आएको हो ।

“सोलले रुसमा उत्तर कोरियाको हालैको सैनिक प्रेषणबारे गम्भीर चिन्ता व्यक्त ग¥यो र उत्तर कोरियाली सेनाको तत्काल फिर्तीको जोडदार आग्रह ग¥यो”, उपविदेशमन्त्री किम होङ–क्युनले रुसी राजदूत जर्जी जिनोभिएभलाई भन्नुभयो ।

सोलको गुप्तचर निकायले विस्तृत उपग्रह तस्वीरहरू सार्वजनिक गरेको छ । तस्बिरहरूले विशिष्ट ‘स्टर्म कोर’ का पहिलो एक हजार पाँच सय उत्तर कोरियाली विशेष बल रुसी सैन्य जहाजहरूमा भ्लाडिभोस्टकमा पुगेको देखाएको छ ।

दुई देशबीचको कुनै पनि सैन्य सहयोगले धेरै सुरक्षा परिषद् प्रस्तावहरूको उल्लङ्घन गर्ने उपविदेशमन्त्री किमले बताउनुभयो ।

रुसी राजदूत जिनोभिएभले ‘रुस र उत्तर कोरियाबीचको सहयोग… दक्षिण कोरियाको सुरक्षाको हितविरुद्ध निर्देशित छैन’ भनी जोड दिनुभएको दूतावासले एक वक्तव्यमा भनेको छ ।

सोमबार नै दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले नाटो प्रमुख मार्क रुट्टेसँग कुरा गर्नुभयो र बढ्दो रुस–उत्तर कोरिया सहयोगविरुद्ध ‘ठोस प्रतिकार्य’ गर्न गठबन्धनलाई आग्रह गर्नुभयो ।

रुट्टेले सामाजिक सञ्जाल एक्समा यसले द्वन्द्वमा ‘महत्त्वपूर्ण वृद्धि’ गर्ने बताउनुभयो । नाटोले अहिलेसम्म उत्तर कोरियाली सैनिक तैनाथीको पुष्टि गरेको छैन ।

राष्ट्रपति युनका अनुसार सोमबार सोलमा रहनुभएका बेलायती विदेशमन्त्री डेभिड लामीले रुसको कार्यलाई ‘लापरवाह र गैरकानूनी’ भन्दै लन्डनले सोलसँग मिलेर जवाफ दिने बताउनुभयो ।

Facebook Comments