Thu. Dec 26th, 2024

मेची-महाकाली उद्धार यात्राः कोशी प्रदेशमा ४४ जनाको उद्धार   

बनियानी (झापा), २०८१ कात्तिक २ गते शुक्रबार । मेची-महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत कोशी प्रदेशमा ४४ जनाको उद्धार गरिएको छ ।

‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ नाराका साथ मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा भएको उद्धार यात्रामा कोशी प्रदेशबाट ३५ पुरुष र नौ महिला गरी ४४ जनाको उद्धार गरिएको हो ।

आश्रमका अध्यक्ष रामजी अधिकारीका अनुसार उद्धार यात्राका क्रममा बिहीबार उदयपुरका विभिन्न स्थानबाट १६ जनाको उद्धार गरिएको उहाँले बताउनुभयो । उद्धार गरिएका आठ पुरुष र आठ महिलालाई बिहीबार नै मानव सेवा आश्रमको विराटनगर शाखामा लगिएको छ ।

असोज २८ गतेदेखि सुरु भएको उद्धार यात्रामा पहिलो दिन झापाबाट १२ जना, दोस्रो दिन मोरङबाट चार जना र तेस्रो दिन सुनसरीबाट १२ जना उद्धार गरिएको थियो । उद्धार यात्रामा गायिका आनीछोइङ डोल्मा र मानवसेवा आश्रमका अध्यक्ष अधिकारीसहित ४७ जना सहभागी हुनुहुन्छ । उद्धार यात्रा ३२ दिनपछि कात्तिक २६ गते सम्पन्न हुनेछ । रासस

Facebook Comments