Fri. Oct 18th, 2024

चोभारआदिनाथमा एकमहिने मेला सुरु

काठमाण्डू, २०८१ कात्तिक १ गते बिहीबार । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन लाग्ने चोभार डाँडास्थित आदिनाथको मेला आज बिहानैदेखि सुरु भएको छ ।

कार्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन हुने उक्त मेला भर्न काठमाण्डू उपत्यका र आसपासका क्षेत्रबाट भक्तजन आउने गरेका स्थानीय हरिलाल श्रेष्ठले बताउनुभयो ।

मेला अवधिकमा आदिनाथको भक्तिपूर्वक पूजार्चना गरेमा निरोगी हुने जनविश्वास छ । साथै छालासम्बन्धी रोग पनि नलाग्ने जनश्रुति छ । आदिनाथ मन्दिरमा शिवपार्वतीको एकाकार मूर्ति छ जसलाई शिव र शक्तिका रूपमा बौद्ध धर्मावलम्बीहरूले पनि अर्चना गर्दै आएका छन् । हिन्दू तथा बौद्ध अनुयायीका निम्ति यो साझा संस्कृतिक धरोहर भएको श्रेष्ठले बताउनुभयो ।

राससका अनुसार मन्दिरमा विभिन्न भाँडावर्तन, गरगहना चढाउने गरेको प्रचलन छ । भक्तजनले बिहानैदेखि बाजागाजासहित मन्दिरमा भजनकीर्तन गरिरहेका छन् । काठमाण्डूबाट करिब नौ किलोमिटर दक्षिणमा अवस्थित उक्त स्थलबाट काठमाण्डू उपत्यकाको मनोरम दृश्य पनि देखिन्छ ।

Facebook Comments