Wed. Oct 16th, 2024

इरानको आणविक वा तेल सुविधामा आक्रमण नगर्ने अमेरिकालाई इजरायली आश्वासन 

वासिङ्टन, २०८१ असोज ३० गते बुधबार । इजरायलले ह्वाइट हाउसलाई इरानमा नियोजित जवाबी आक्रमणका क्रममा त्यहाँको आणविक वा तेल सुविधालाई लक्षित नगर्ने आश्वासन दिएको अमेरिकी सञ्चारमाध्यमले सोमबार जनाएको छ ।

गत अक्टोबर १ मा इरानले इजयायलमा गरेको क्षेप्यास्त्र आक्रमणको प्रतिक्रियामा इजरायलले प्रतिआक्रमण गर्ने वाचा गरेको हो ।

एएफपीका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले ह्वाइट हाउसलाई इजरायली प्रतिआक्रमणले सैन्य साइटहरूलाई मात्र लक्षित गर्ने आश्वासन दिनुभएको एक अज्ञात अमेरिकी अधिकारीलाई उद्धृत गर्दै वासिङ्टन पोस्टले जनाएको छ ।

गत हप्ता अमेरिकी राष्ट्रपति जो बिडेन र नेतान्याहूबीच भएको फोनवार्ता साथै अमेरिकी रक्षा सचिव लोयड अस्टिन र उहाँका इजरायली समकक्षी योव ग्यालान्ट बीचको कुराकानीमा यो प्रतिज्ञा भएको एक अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै वाल स्ट्रिट जर्नलले जनाएको थियो ।

क्षेत्रीय युद्धको थप विस्तारबाट बच्न र विश्वव्यापी ऊर्जाको मूल्यवृद्धिको चिन्ताको बीचमा राष्ट्रपति बाइडेनले इजरायललाई इरानको आणविक वा तेल सुविधाहरूमा आक्रमण नगर्न चेतावनी दिनुभएको हो ।

Facebook Comments