Sat. Dec 28th, 2024

बुद्ध एयरका यात्रुले इमरजेन्सी ढोका खोलेपछि… ,

काठमाण्डू, २०८१ असोज २४ गते बिहीबार । विराटनगरबाट जनकपुरका लागि उड्नेक्रममा रहेको बुद्ध एयरको एटीआर विमानमा एक यात्रुले इमर्जेन्सी डोर (आपत्कालीन ढोका) खोलेका छन् ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार आज बिहान काठमाण्डूबाट जनकपुरका लागि उडेको बुद्ध एयरको उडान नम्बर ५०५ विमान भिजिबिलिटी कमजोर हुँदा जनकपुर विमानस्थलमा अवतरण हुन नसकेपछि विराटनगर विमानस्थलमा अवतरण गरिएको थियो।

आपत्कालीन ढोकाको प्रयोगबारे विमान कम्पनीका परिचारिकाले उडान अगावै विस्तृतरूपमा यात्रुलाई जानकारी गराएका हुन्छन्। आपत्कालीन अवस्थाबाहेक यसलाई खोल्न मिल्दैन, यसले उडान सुरक्षामै खलल पुर्‍याउँछ।

राससका अनुसार  जनकपुरको मौसममा सुधार भएपछि विराटनगरबाट उड्ने तरखरमा रहेको विमान ट्याक्सी वेबाट धावनमार्ग पस्दै गर्दा विमानको इमरजेन्सी ढोका नजिकै बसेका एकजना यात्रुले खोलेका थिए। उक्त घटनापछि चालक दलले विमान पार्किङ–वे मै फकाएका थिए। उक्त विमानको प्राविधिक जाँच पछि नियमित उडानमा रहेको बुद्ध एयरले जनाएको छ।

यस्ता घटनाले उडान सुरक्षामा खलल पुर्‍याउने यात्रुलाई विमानस्थलका सुरक्षाकर्मीलाई जिम्मा लगाइएको छ।

विगत केही साता यता यात्रुले विमानका इमरजेन्सी ढोका खोलेका घटना सार्वजनिक भएका छन्। गत अक्टोबर २ तारिखका दिन विराटनगरबाट काठमाण्डू उडानमा र ७ अक्टोबरका दिनमा नेपालगन्जबाट काठमाण्डू उडानमा पनि यात्रुले इमरजेन्सी ढोका खोलेका थिए। यसले उडान प्रक्रियालाई नै अवरुद्ध गरी उडान तालिकालाई थप प्रभावित बनाएको कम्पनीले जनाएको छ।

हवाई उडानमा खलल पुर्‍याउने जोसुकैलाई ‘गैर सैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५’ अनुसार १ देखि तीन वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरी जन्मकैदसम्म सजाय हुने प्रावधान छ। उडान सुरक्षामा अनाहक खलल पुर्‍याउने यात्रुलाई विमान सेवा प्रदायक कम्पनीले उडानमा थप प्रतिबन्ध लगाउने गरेका छन् ।

Facebook Comments