Fri. Apr 26th, 2024

ताप्लेजुङका गलैंचा तिब्बतमा लोकप्रिय

ताप्लेजुङ, २०७६ कार्तिक २० गते बुधबार

ताप्लेजुङको ओलाङचुङगोलामा बुनिएका गलैंचा चीनको स्वायत्त प्रदेश तिब्बतमा लोकप्रिय हुन थालेका छन्। त्यहाँका ४२ मध्ये तीन परिवारबाहेक प्रत्येक घरमा गलैंचा बुनिन्छ। प्रत्येक घरको माथिल्लो तलाको बार्दलीमा गलैंचाको तान छ। पालले छोपिएको त्यो तानको छेउमा एफएम रेडियो, क्यासेट राखिएको छ। त्यही रेडियो क्यासेट सुन्दै महिलाहरू गलैंचा बुन्छन्। स्वदेशी ग्राहकहरूले भने पाउन कठिन छ। यहाँको गलैंचा सबै चीन जान थालेपछि स्वदेशीका लागि मुस्किल बनेको कान्तिपुर अनलाइनले लेखेको छ।

चीनको घुम्तिमामा असोज २९ गते भएको व्यापारिक केन्द्र उद्घाटनमा नेपालबाट लगेका ३८ जोडी गलैंचा एकै दिनमा बिक्री भएको त्यहाँबाट फर्किएका टाँसी भोटेले बताउनुभयो। उहाँका अनुसार नेपालबाट लगिएका मध्ये सबैभन्दा छिटो र राम्रो गरी गलैंचा बिक्री भएको थियो। त्यहाँ एक जोडी गलैंचालाई दुई हजार चिनियाँ युआन पर्छ। प्रतिगोटा एक हजार युआनमा बिक्री हुन्छ। यो नेपाली १६ हजार रुपैयाँ हो। चिनियाँहरू भने एउटा मात्र गलैंचा किन्दैनन्। अनिवार्य जोडी गलैंचा खोज्छन्। ‘एउटा गलैंचाको जोडि आएनछ, योचाहिँ अब फर्काउनैपर्ने भयो,’ टाँसीले भन्नुभयो, ‘गोलामा लगेर जोडी बुनेर फेरि पठाउँछौं।’ गोलाका महिलाले जोडी हुने गरी फरक रङ हालेर गलैंचा बुन्ने गरेका छन्। तुलनात्मक रूपमा सस्तो, राम्रो, लामो समयसम्म खपत हुने र न्यानो हुने भएकाले चिनियाँको रोजाइ बनेको बुझाइ छेतेनको छ।

चीन जानुअघिसम्म यहाँका सबै गलैंचा सदरमुकाम फुङलिङ आउँथ्यो। यहाँबाट काठमाडौंको बौद्धसम्म पुर्‍याएर बिक्री गरिन्थ्यो। बिक्रीका लागि बजार पठाएको गलैंचाको मूल्य वर्षदिनसम्ममा पनि पाउन मुस्किल हुन्थ्यो। अहिले त्यो अवस्था छैन। छेतेनले भन्नुभयो ‘क्यास पैसा तत्काल दिन्छन्, नदिए चीनबाट त दाल, चामल, नुन, व्यापारिक सामान ल्याए पनि हुन्छ।’ घुम्तिमाको व्यापारिक केन्द्र उद्घाटनअघि सबै गलैंचा त्यतै लगेकाले गोला पुगेका घिमिरेलगायतले नपाएको छेतेनले बताए। गोलाबाट चौंरीलाई बोकाएर चीन लगिन्छ।

Facebook Comments