Mon. Dec 23rd, 2024

‘रातोमाटोले घर पोतेपछि बल्ल दसैँ आए जस्तो लाग्छ’   

गलकोट (बागलुङ), २०८१ असोज २४ गते बिहीबार । नेपालीहरूबीच दसैँमा रातोमाटोले घर पोत्न परम्परा नै छ । ढुङ्गा र माटोले पोतिएका घरलाई दसैँमा चिटिक्क बनाउन यस बेला स्थानीय रातोमाटोको जोहो गर्न व्यस्त देखिन्छन् ।

परम्परा धान्नकै लागि भए पनि यहाँका स्थानीयले रातोमाटोले घर पोत्ने चलन छाडेका छैनन् । दसैँ नजिकिएसँगै दिनहुँजसो यहाँका रातोमाटो पाइने स्थानमा स्थानीयको भीड नै लागेको देखिन्छ । केहीले आफ्नै घरका लागि त केहीले व्यावसायिक रूपमा नै रातो माटो खनेर बिक्रीसमेत गर्ने गरेको पाइन्छ ।

काठेखोला गाउँपालिका–१ पाला निवासी कमला भण्डारी दसैँ आउँदा सेतो कमेरो, पहेलो र रातो माटोले घर सजाउने चलन अझै गाउँ घरमा कायमै रहेको बताउनुहुन्छ । बजारका घरमा रेडिमेट रङ्ग लगाउने चलन भए पनि परम्परागत माटोले बनेका घरमा अझै रातोमाटोले पोत्ने चलन रहेको उहाँको भनाइ छ । “धेरै घर त सिमेन्टका बनिसके, त्यस्तो घर बनाएकाहरूले रेडिमेट रङ प्रयोग गर्छन् तर गाउँमा रहेका परम्परागत घरमा भने माटो नै चाहिन्छ, दसैँमा घर चोख्याउन भए पनि रातोमाटो प्रयोग हुन्छ,” भण्डारीले भन्नुभयो “अहिले त रातोमाटोसमेत व्यावसायिक रूपमा बिक्री गर्न घर–घरमै लैजाने गरेको छ । मैले त स्थानीय माटो पाइने ठाउँबाट जोहो गरेकी छु ।”

राससका अनुसार  घर लिपपोतका लागि बागलुङ नगरपालिकाको खहरे, बोक्सेलगायतका स्थानमा रातोमाटो पाइने गरेको छ । विगतको तुलनामा माटो लिन आउनेहरू सङ्ख्या पातलिँदै गए पनि प्रचलन भने कायमै रहेको स्थानीय बताउछन् ।

हुन त घरको पिढी र बाहिरी भित्तामा अन्य रङ लगाए पनि भित्री भाग वा पूजा गर्ने ठाउँमा मात्रै किन नहोस् रातोमाटोले लिप्ने प्रचलनसमेत छ । “घरको कुनै न कुनै भागमा रातोमाटोले नपोतेसम्म चोखो हुँदैन, सिमेन्टकै घरमा पनि जमरा राख्ने स्थानलाई गोबर र रातोमाटोले पोतेर चोखो बनाउनुपर्छ भन्ने मान्यता अझै छ”, स्थानीय गमकुमारी पुनले भन्नुभयो, “अघिपछि भन्दा दसैँको समयमा रातोमाटोको महत्व बढी छ, घरमा रातोमाटोले पोतेपछि बल्ल दसैँ आए जस्तो लाग्छ ।”

Facebook Comments