Mon. Dec 23rd, 2024

दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छ : सभापति देउवा   

काठमाण्डू, २०८१ असोज २४ गते बिहीबार । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैँले समुदाय, संस्था, परिवार र व्यक्तिव्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको उल्लेख गर्नुभएको छ ।

बडादसैँका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै उहाँले यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताका रुपमा मनाउँदै आएको बताउनुभएको छ ।

राससका अनुसार  दसैँको पूर्वसन्ध्यामा बाढी, पहिराको प्रकोपले मुलुक नै आक्रान्त हुन पुगेको उल्लेख गर्दै सभापति देउवाले हजारौँ नागरिक घरवारविहीन हुन पुगेको बताउनुभएको छ । “मुलुकका अर्बौंका राष्ट्रिय पूर्वाधार नष्ट भएका छन् । दसैँमा मान्यजनबाट आशिष लिन र आफन्तसँग भेटघाट गर्नका लागि गाउँघर फर्कन कठीन अवस्था सिर्जना भएको छ”, उहाँले उल्लेख गर्नुभएको छ, “हजारौँ नागरिकका करोडौँका जग्गाजमिन र भित्र्याउने बेला भएका अन्नबाली सखाप भएका छन् । यो विपत्तिका समयमा दुर्गा भवानीले सबैलाई आत्मबल र दृढ शक्ति प्रदान गरून् भन्ने कामना गर्दछु ।”

नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक राष्ट्र हो । हामीमा नीहित बन्धुत्व भावले यी विविधताबीचमा पनि अनुपम एकता कायम गरेको उहाँको भनाइ छ । विविधताबीचको एकता नेपालीको विशेषता र पहिचान पनि हो । दसैँ हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व भएको बताउँदै उहाँले यो पर्वले अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने उल्लेख गर्नुभएको छ । सभापति देउवाले बडादसैँको पुनित अवसरमा कांग्रेस र आफ्नो व्यक्तिगततर्फबाट सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

Facebook Comments