Sat. Sep 28th, 2024

काठमाण्डू उपत्यकामा बाढीपहिरोमा परी २१ जनाको मृत्यु   

   
काठमाण्डू, २०८१ असोज १२ गते शनिबार । वर्षाजन्य विपद्मा परी काठमाण्डू उपत्यकमा २१ जनाको मृत्यु भएको छ । हालसम्म काठमाण्डूमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीन जनाको मृत्यु भएको हो ।

काठमाण्डू उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले राससलाई दिनुभएको जानकारीअनुसार वर्षाजन्य विपद्का घटनामा परी पाँच जना बेपत्ता भएका छन्भने नौ जना घाइते भएका छन् । बाढीपहिरो तथा डुबानमा परेका ७२८ जनालाई उद्धार गरिएको उहाँले बताउनुभयो । बाढीपहिरोबाट काठमाण्डूमा चार घर भत्किएका छन्भने दुई सय २६ घर डुबानमा परेका छन् । ललितपुर र भक्तपुरका धेरै घरमा पानी पसेको छ ।

राससका अनुसार  विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाण्डूमा तीन हजार ६०, ललितपुरमा नौ सय ३० र भक्तपुरमा एक सय २० जना नेपाल प्रहरीको जनशक्ति खटिएको उपत्यका प्रहरीका कार्यालयका प्रवक्ता घिमिरेले जानकारी दिनुभयो । यसैबीच विपद्को जोखिमका आधारमा काठमाण्डूमा थप ४०, ललितपुरमा २५ र भक्तपुरमा १५ जना थप जनशक्तिसमेत परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

Facebook Comments