Sat. Sep 28th, 2024

निरन्तरको वर्षाले भोजपुरका विभिन्न सडक अवरुद्ध   

टक्सार (भोजपुर), २०८१ असोज १२ गते शनिबार । निरन्तरको वर्षाले गएराति अरुण गाउँपालिका–४ माङसुवा र ओदानेस्थित हिले–भोजपुर मध्यपहाडी लोकमार्गमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । रुख, ढुङ्गा, माटो, लेदोसहितको पहिरो जाँदा पाँच किलोमिटर सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक श्रेष्ठले अवरुद्ध सडक सञ्चालन गर्न स्थानीय पालिकासँग समन्वय गरी पहिरो पन्छाउने काम भइरहेको बताउनुभयो ।

जिल्लाको पश्चिम टेम्केमयुङ गाउँपालिका–२ श्रीदलीस्थित भोजपुर–खोटाङ पुष्पलाल मध्यपहाडी लोकमार्गमा वर्षासँगै पहिरो जाँदा सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय दिल्पाबाट प्रहरी नायब निरीक्षक हुसनकाजी राईसहितको टोलीले सम्बन्धित पालिकासँगको समन्वयमा पहिरो पन्छाउने काम गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

राससका अनुसार  वर्षाले जिल्ला ट्राफिक कार्यालयको भान्सा घर, कार्यालय र ब्यारेक जोखिममा परेपछि कार्यालय नजिक बसोबासको व्यवस्था मिलाइएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोले अरुण–३ का नेत्रबहादुर बस्नेत, भोजपुर नगरपालिका–४ का चन्द्रकला श्रेष्ठ र भोजपुर–५ का भिमबहादुर दाहालको घरमा पूर्ण रुपमा क्षति भएको छभने भोजपुर–४ का हरिबहादुर खड्काको गोठमा क्षति भएको छ ।

जिल्लाका विभिन्न प्रहरी कार्यालयबाट उद्धार तथा राहतमा खटिएका प्रहरीको टोलीले पहिरो प्रभावितलाई उद्धार गरी अस्थायी बासको व्यवस्था मिलाएको श्रेष्ठले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दिपककुमार श्रेष्ठको नेतृत्वमा १४ र सशस्त्र प्रहरी बल पाँच नं गुल्मबाट सहायक प्रहरी निरीक्षक ऋषी खत्रीको नेतृत्वमा १५ जनाको टोली उद्धार तथा राहतमा खटिएका उहाँले जानकारी दिनुभयो ।

वर्षाले भोजपुर–६ देउरालीबाट वडा नं ५ बोखिमसम्म पुष्पलाल मध्यपहाडी लोकमार्गका विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएका छन् । अहिले स्थानीय, प्रहरी तथा सम्बन्धित सथानीय तहका जनप्रतिनिधिसँगको समन्वयमा पहिरो पन्छाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Facebook Comments