Fri. Apr 19th, 2024

प्रदेश ५ मा जताततै सलह, बास बस्दै, बाली खाँदै, उड्दै

काठमाडौं, २०७७ असार १६ गते मंगलबार

भारतबाट शनिबार रुपन्देही, कपिलबस्तुलगायतका सिमावर्ती जिल्ला हुँदै छिरेका सलह कीरा प्रदेश ५ का विभिन्न जिल्लाका गाउँ गाउँसम्म पुगेका छन् । ती कीरा बास बस्दै, बाली खाँदै, उड्दै गरिरहेका छन् ।

शनिबार बुटवलको आकासमा हुलका हुल देखिएका ती कीरा मंगलबार गुल्मी, अर्घाखाँची, पाल्पा, बाँके, बर्दिया, प्यूठान,दाङलगायतका जिल्लाहरुमा प्रशस्त देखिएका छन् । स्थानीय समाचारदाताका अनुसार सलहले आतङ्कित किसान र स्थानीय सलह भगाउन जाग्राम बस्दै थाल ठटाउने, चर्को आवाजमा कराउने, गीत बजाउने, आगो बालेर धुवाँ निकाल्नेलगायतका उपायहरु अपनाइरहेका छन् ।

बाँके र बर्दियामा हजारौं

नेपालगञ्ज समाचारदाताका अनुसार प्रदेश नम्बर पाँचका विभिन्न जिल्लामा भित्रिएको सलह किरा बाँके र बर्दियामा पनि भित्रिएको छ । सो कीरा बाँकेको खजुरा, बर्दियाको गेरुवामा भित्रिएको छ । बाँकेको खजुरामा केही मात्र छिटपुट रुपमा देखिए पनि बर्दियाको गेरुवा गाउँपालिका वडा नं १ बगहिपुर र जनकनगरमा भने हजारौंको संख्यामा देखिएको वडाध्यक्ष दयाराम वैद्यले बताउनुभयो । बगहिपुरको खेतमा हजारौंको संख्यामा सलह देखिएपछि स्थानीय किसानले मादल र थाल बजाएर भगाएको र केहीलाई माछा मार्ने जालमा फसाएर समात्दै मारेको अध्यक्ष वैद्यले बताउनुभयो ।

खेतबाट भगाएपछि नजिकैको जंगलमा गएर रुख विरुवामा बसेका थिए । बाँके र बर्दियामा पहिलेदेखिनै सचेतनालगायत सबै तयारी पूरा गरेको जनाउँदै कृषि ज्ञान केन्द्र नेपालगञ्जले बर्दिया र बाँकेमा सलह भित्रिएको सूचना आएको जनाएको छ ।

कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख सागर ढकालले बाँकेको खजुरा र बर्दियाको गेरुवामा सलह देखिएको सूचना आएकोले अन्य ठाउँमा पनि जानकारी लिने काम भैरहेको बताउनुभयो । उहाँले बर्दियाका किसानले स्प्रे गरेर, मादल बजाएर सलह धपाउन सफल भएकाले अन्य ठाउँका किसानलाई पनि सचेत रहन आग्रह गरिएको बताउनुभयो । खेतमा सलह आएको विगतमा पनि सुन्ने गरेको बर्दिया गेरुवाका स्थानीय वृद्ध किसान रामबहादुर थारुले वताउनु भयो । पहिला सलह देखिए समात्ने र भुटेरर खाने गरेको आफ्ना वा आमाबाट सुने पनि आफूले कीरा पहिलो पटक देखेको थारुको भनाइ छ । गेरुवामा रोपिएको धान खेतमा सलह देखिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपरजोन राजापुरका प्रमुख डा. तपेन्द्र शाहले बताउनुभयो । सलह देखिएपछि कार्यालयबाट प्राविधिकको टोली उक्त क्षेत्रमा पठाइएको डा. शाहले जानकारी दिनुभयो । सलह देखिएपछि स्थानिय किसान भोकमरी हुने र धानको बिउनै मासिने भन्दै चिन्तित देखिएका छन् ।

गुल्मीका सबै तहमा

तम्घास समाचारदाताका अनुसार गुल्मीका सबै स्थानीय तहमा सलह कीरा पुगेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । सलह कीरा रुखहरुमा बसेको र खेती बालीहरुमा अहिले सम्म केही हानी नोक्सानी नगरेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख बुद्धिराज घिमिरेले जानकारी दिनुभयो ।

सलह कीरालाई बोटबिरुवा र बालीहरुमा बस्न नदिनका लागि थालहरु ठटाउने र धुवाबाल्ने जस्ता कार्यहरु गर्न घिमिरेले आग्रह गर्नुभएको छ । उहाँले सलह कीराको बथानै नभई केही झुण्ड तितर बितर भएर आएकाले माहामारीको रुप लिन नसक्ने बताउनुभयोे ।

यता धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले किसानहरुलाई सचेत गराइएको र सलह कीरालाई बालीहरुमा बस्न नदिनका लागि बिभिन्न उपायहरु अपनाइएको जानकारी दिनुभयो । उहाँले कृषकहरुलाई थाल, टिन ठटाउन, धुँवाहरु बाल्नका लागि आग्रह गरिएको दाबी गर्नुभयो । यदि कसैले सलह कीरा टिपेर ल्याएमा गाउँपालिकाले आर्कषक पुरस्कारको व्यवस्था गरेको जानकारी दिनुभयो । के कति भन्ने बारेमा अहिले केही भन्न नसकिने भन्दै प्रदेश सरकारले तोकेभन्दा धेरै पुरस्कार दिइने पोखरेलले दाबी गर्नुभयो ।

पाल्पाका आकाशमा पनि

तानसेन समाचारदाताका अनुसार पाल्पा जिल्लाका विभिन्न स्थानमा सलह कीराको झुण्ड निरन्तर घुमिरहेको छ । पाल्पाको छहरा, दोभानको झ्ङ्ला, बगनासकालीको चिर्तुङ्धारा, बराङ्दी, रिब्दीकोटको ख्याहा लगायतका क्षेत्रमा चार दिनदेखि सलह कीराको समूह घुमिरहेको छ ।

पाल्पामा ठूलो सङ्ख्यामा सलह कीराको समूह नभए पनि हालसम्म पनि सलह कीरा विभिन्न स्थानमा उडेको भन्ने सूचना प्राप्त भएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । सलहको सानो-सानो झण्ड देखिएको छ, ठूलो झुण्ड कहाँ बसेको छ भनेर टे«सिङ् गर्ने कार्य भईरहेको ज्ञान केन्द्रका प्रमुख शिवप्रसाद अर्यालले बताउनुभयो । पाल्पामा देखिएको सलहको सानो झुण्डले बालीनालीमा ठूलो क्षति नपुर्याउने बताउँदै उहाँले धानको बीउ भने जोगाउनुपर्ने बताउनुभयो ।

सलहको झुण्डले देख्नेवित्तिकै पाल्पाका स्थानीय बासिन्दाले ध्वनी निकाल्ने, आगो बालेर धुँवा उडाउनेजस्ता कार्य गरेकाले पनि सलहको झुण्ड एकीकृत हुन नसकेको कृषि प्राविधिक बताउँछन् । सलहको समूह देख्नेवित्तिकै यहाँका जनताले निरन्तर सलह भगाउने क्रियाकलाप गरिरहेका छन् ।

प्यूठानमा पनि देखियो

प्यूठान समाचारदाताका अनुसार प्यूठानमा पनि जिल्लामा सलह किरा भित्रिएको छ । जिल्लाका विभिन्न स्थानमा सलह देखिन थालेपछि किसान चिन्तित बनेका छन् । पूर्वी प्यूठानको मल्लरानी गाउँपालिका–२ चुँजाबाट सलह भित्रिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानका निमित्त प्रमुख सुमन खनालले जानकारी दिनुभयो । सोमबार बेलुका भित्रिएको कीरा अहिले जिल्लाका विभिन्न ठाउँमा फैलिएका छन् ।

जिल्लाको बरौला, अर्खा, रजबारा, बाँदिकोट लगायत ठाउँमा सलह देखिएपछि किसानले आगो बालेर लखेट्न थालेको रजबाराका स्थानीय लालबहादुर सेनले बताउनुभयो । सलह देखिएपछि किसानले बाँजागाजा बजाउने, आगो बाल्ने लगायतका उपाय अपनाएर लखेट्ने काम गरिरहेको उहाँको भनाइ छ ।

यसअघि आइतबार सरुमारानी गाउँपालिकाको बांगेशालमा फाट्टफुट्ट रुपमा सलह देखिएको थियो । अहिले ठूलो झुण्ड झुण्डमा सलह देखिन थालेको हो । गोरखापत्र अनलाईनबाट

Facebook Comments