Sat. Apr 27th, 2024

सलह नियन्त्रण गर्न तत्काल एक्सनमा जाने निर्णय : दमकल र ड्रोनबाट औषधि छर्किन सिफारिस

काठमाडौं, २०७७ असार १४ गते आईतबार

कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालको अध्यक्षतामा आइतबार भएको छलफलमा सराेकारवाला निकायका अधिकारी र विज्ञहरुले सलह राेकथामका लागि दमकल र ड्रोनबाट विषादी छर्किन सिफारिस गरेका छन् । उनीहरूले सलह नियन्त्रण गर्न तत्काल एक्सनमै जानसमेत सुझाव दिएका छन् ।

‘छलफलमा तत्काल एक्सनमा जाने निर्णय भएको छ । सलह नियन्त्रण गर्न संघले प्रदेशलाई विषादी, औजार उपलब्ध गराउने । प्रदेशले स्थानीय निकायलाई जानकारी गराउने निर्णय भयो,’ बैठकमा सहभागी कृषि विभागका पूर्व महानिर्देशक डिल्लीराम शर्माले भने, ‘बढी झुन्ड देखिएको ठाउमा दमकल, ड्रोनको प्रयोग लगायत खोजी गर्ने निर्णय भयो । बढी झुन्ड देखिएको ठाउँमा भोलि/पर्सि नै दमकलबाट विषादी छर्न पर्छ । सोही अनुसार सिफारिस गरेका छौं ।’

यीबाहेक थाल ठोक्ने, बाजा बजाउनेलगायत उपाय किसानले स्वयं तयारी गर्नुपर्ने बताए । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले तत्काल नियन्त्रण गर्न दमकल, ड्रोल लगायतको प्रयोग, नीतिगत निर्णयहरु बुझाएको बताए ।

प्रदेश र स्थानीय सरकारलाई सूचना दिने सन्दर्भमा प्राविधिक टोलीले निर्णय गर्ने बताए । ‘व्यवस्थापन कसरी गर्ने,स्थानीय र किसानलाई के सूचना दिनेबारेमा छलफल गरिरहेका छौं,’ उनले भने, ‘दुवै मिटिङको सार तत्काल एक्सनमै जाने भन्ने नै हो ।’

विज्ञ भन्छन् : भारतबाट सलहको ४ वटा झुन्ड नेपाल प्रवेश गरेको हो

देशभर पानी परेका कारण आइतबार फैलावट रोकियाे : प्राविधिक समिति

भारतबाट उत्तरतिर हावा बहँदा नेपालमा सलहका ४ वटा झुन्ड प्रवेश गरेको विज्ञहरुले बताएका छन् । कीट विज्ञहरुले शनिबार पर्सा,बारा,सर्लाही र रुपन्देहीमा गरेर चार ठाउँमा झुन्ड प्रवेश गरेको बताएका हुन् ।

ती झुन्डबाट केही छुट्टिएर र हावाले उडाएर नेपालका अन्य भू-भागहरुमा पुगेको सलह नियन्त्रणका लागि कृषि मन्त्रालयद्वारा गठित प्राविधिक समितिका संयोजक सहदेव हुमागाईंले कान्तिपुरलाई बताए । झुन्डमा कति संख्यामा सलह छन् भन्न‍ सकिने अवस्था नरहेको उनले बताए । तिनै झुन्डहरु उत्तरितर लागिरहेका हुन् ।

रुपन्देहीमा प्रवेश गरेको बुटवल हुँदै त्यहाँबाट छुट्टिएर एउटा पाल्पा र अर्को सैनामैना हुँदै कपिलवस्तुतिर गएको विज्ञहरुले बताएका छन् ।

सर्लाहीमा देखिएको झुन्ड टुक्रिएर सिन्धुली हुँदै सिन्धुलीको चियाबारीमा पुगेका छन् । त्यही झुन्डबाट टुक्रिएर केही रामेछापतिर पुगेको तर न्यून संख्यामा रहेको प्राविधिक समितिले जनाएको छ ।

बारामा देखिएको ठूलाे झुन्ड टुक्रिएर काभ्रे र मकवानकपुरको बीचमा पुगेको थियो । त्यही झुन्ड टुक्रिएर मकवानपुरगढी र चितवन पुगेको हुमागाईंले बताए । पर्सामा देखिएको झुन्ड एकदमै सानो रहेको र त्यो झुन्ड जंगलतिर प्रवेश गरेपनि आधिकारिक पुष्टि नभएको हुमागाईंले बताए । उनले भने,’शनिबार पर्साको पर्सागढीबाट उडेपछि चितवनतिरको जंगलमा गयो तर कहाँ गयो थाहा छैन । जंगलप्रवेश गर्‍यो कि भन्‍ने अनुमान छ तर पुष्टी भइसकेको छैन । ‘

यस्तै मुलुकका अन्य भागहरुमा सानातिना दुई चारवटा संख्या हावाले छुट्टाएर ल्याएको हुन सक्‍ने उनले बताए । उनले भने,’बथानको रुपमा देखिएका छैनन् । ‘

मनसुनका कारण आइतबार फैलावट रोकियो

शनिबार रातिदेखि मुलुकका विभिन्न क्षेत्रमा वर्षाभएपछि सलह फैलावट रोकिएको प्राविधिक समितिले जनाएको छ । शनिबार साँझ अवतरण भएको क्षेत्रबाट सलह अन्यत्रतिर उड्न नसकेर त्यही बसेको हुन सक्‍ने हुमागाईंले बताए ।

उनले भने,’ हिजोको जतिको फैलावट आज देखिएको छैन । पानी परेर पनि होला कपिलवस्तु,रुपन्देहीमा त्यस्तो फैलावट देखिएको छैन । अहिले अन्यत्र गएको भनेर देखिएको छैन ।’ यस्तै, आइतबार मनसुन सक्रिय हुँदा तराईका जिल्लाहरुमा सलह प्रवेश नगरेको हुमागाईंले बताए ।

शनिबार बेलुका सलह भेटिएका स्थानहरुमा अहिले प्रदेशका कृषि विज्ञहरुले ती ठाउँहरुमा अनुगमन गरिरहेको बताएका छन् । कान्तिपुर अनलाईनबाट

Facebook Comments