Mon. Sep 23rd, 2024

विद्यार्थीलाई ‘झोला उपहार’   

खोटाङ, २०८१ असोज ७ गते सोमबार । यहाँको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका एक युवा विनोद राईले आफ्नो गाउँपालिकाका सबै विद्यार्थीलाई उपहारस्वरुप झोला वितरण अभियान शुरु गर्नुभएको छ । उहाँले गाउँपालिकाभित्र सञ्चालित सबै सामुदायिक विद्यालय (४९ वटा)मा अध्ययनरत विद्यार्थीलाई उपहारस्वरुप झोला वितरण अभियान शुरु गर्नुभएको हो ।

उहाँले हालसम्म चारवटा विद्यालयका तीन सय ५४ विद्यार्थीलाई झोला वितरण गरिसक्नुभएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित श्रीदेवी आधारभूत विद्यालय खमारेका ६५, वडा नं. -६ छितापोखरीस्थित जनसेवा माध्यमिक विद्यालयका एक सय २९, वडा नं. -७ टेम्मास्थित शान्ति माध्यमिक विद्यालयका एक सय ३० र सोही वडाको आदर्श सदन आधारभूत विद्यालयका ३० विद्यार्थीलाई वितरण गर्नुभएको हो ।

राईले सम्बन्धित विद्यालयमै पुगेर उपहारस्वरुप झोला उपलब्ध गराएपछि विद्यार्थीसमेत हर्षित भएका छन् । व्यक्तिगत खर्चमा झोला खरिद गरेर बाल विकास केन्द्रदेखि कक्षा–१० सम्म अध्ययन गर्ने विद्यार्थीका लागि वितरण गर्दै आउनुभएका राईलाई सम्बन्धित विद्यालयले सम्मान गरेको छ ।

राससका अनुसार  झोला अभावमा हातमा किताब/कापी बोकेर हिँड्न बाध्य विद्यार्थीलाई लक्षित गर्दै आफ्नो व्यक्तिगत खर्चमा उपहारस्वरुप झोला प्रदान गर्ने अभियान शुरु गरेको उहाँले बताउनुभएको छ । “सानोमा दुई घण्टा हिँडेर स्कूल धाउन पथ्र्यो । हातमा किताब बोक्नुपर्ने, साउनको बेला लड्दा खेतमा किताब खसेर भिजेको थियो”, उहाँँले भन्नुभयो, “किताब/कापी, डटपेन हराउने समस्या बेहोरेका थियौँ । त्यही बिगत सम्झिएर विद्यार्थीलाई झोला वितरण गरेको हुँ ।”

वि.सं. २०८४ सालसम्ममा गाउँपालिकाभरीका सबै माध्यमिक तहका विद्यालयमा अध्ययनरत छात्र/छात्रालाई झोला वितरण गर्ने लक्ष्य रहेको राईले जानकारी दिनुभयो । विद्यार्थीलाई सामाजिक सेवाको भाव जगाउन पनि झोला वितरण अभियान शुरु गरेको उहाँको भनाइ छ ।

आफ्नो कमाइको २० प्रतिशत सामाजिक काममा खर्च गर्ने घोषणा अन्तर्गत विद्यार्थीलाई झोला वितरण गरेको उहाँले बताउनुभयो । वि.सं. २०५८ साल मङ्सिर १५ गते जनता माध्यमिक विद्यालय भण्डारीडाँडाको विद्यार्थी सङ्गठनको अध्यक्षबाट राजनीति शुरु गर्नुभएका उहाँ काठमाण्डूमा रेष्टुरेन्ट तथा काष्ठकला व्यवसाय सञ्चालन गर्नुहुन्छ । उहाँ नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङ्का जिल्ला सदस्यसमेत हुनुहुन्छ ।

Facebook Comments