Sun. Sep 22nd, 2024

श्रीलङ्का : राष्ट्रपतीय निर्वाचनमा माक्र्सवादी नेता दिसानायकाले ५२ प्रतिशत मतसहित अग्रता कायम  

कोलम्बो, २०८१ असोज ६ गते आइतबार । श्रीलङ्कामा शनिबार सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनको प्रारम्भिक मतगणनामा माक्र्सवादी नेता अनुरा कुमारा दिसानायकाले अग्रता कायम गर्नुभएको छ ।

आइतबार बिहानसम्मको मतगणनाअनुसार दिसानायकाले १० लाखभन्दा बढी मत अर्थात् ५२ प्रतिशत मत प्राप्त गरी ५२ प्रतिशत मत पाउनुभएको छ । विपक्षी नेता साजिथ प्रेमदासा २३.३ प्रतिशत मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ भने रनिल विक्रमासिङ्घे १६ प्रतिशत मतका साथ तेस्रो स्थानमा रहनुभएको छ ।

सन् २०२२ मा देखिएको चरम आर्थिक सङ्कटका कारण चलेको आन्दोलनका भरमा तत्कालिन राष्ट्रपति गोटबाय राजपाक्षले राजिनामा गरेपछि उहाँको स्थानमा त्यहाँको संसद्ले रनिल विक्रमासिङ्घेलाई चयन गरेको थियो । विक्रमासिङ्घेले राजपाक्षको पलायन र राजिनामापछि खालि रहेको राष्ट्रप्रमुखको जिम्मेवारी सम्हाल्दै सङ्कटग्रस्त अर्थतन्त्रलाई ट्र्याकमा ल्याउने काम गर्नुभएको थियो ।

सन् २०२२ को आर्थिक मन्दीको चरमोत्कर्षमा सत्तामा पुगेका वर्तमान राष्ट्रपति रानिल विक्रमासिङ्घेले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को बेलआउटको शर्तअनुसार कडा मितव्ययिता नीति लागू गर्नुभएको थियो ।

राष्ट्रपति विक्रमासिङ्घेको कर वृद्धि र आईएमएफको २.९ अर्ब अमेरिकी डलरको बेलआउटअन्तर्गत मन्दीलाई सही दिशा दिन लगाइएका अन्य उपायहरूले लाखौंलाई जीविका चलाउनसमेत कठिन भएको थियो ।

गत वर्ष सरकारले विदेशी ऋण नतिरेपछि प्राप्त गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को उद्धार प्याकेजका शर्तहरूमा पुनः छलफल गर्ने अभियानको क्रममा विक्रमासिङ्घेले गरेका वाचालाई दिसानायकाले निरन्तरता दिने प्रतिबद्धता जनाृनुभएको थियो ।

आठ हप्तालामो अभियानमा आर्थिक मुद्दाहरू हावी भएका थिए र दुई वर्षअघि सङ्कटको चरमोत्कर्षमा पुगेदेखि भोगेका कठिनाइहरूप्रति व्यापक जनआक्रोश देखिएको थियो।

आइतबारसम्म आधिकारिक नतिजा आउने अपेक्षा गरिएको छैन तर विदेशमन्त्री अली साबरीले प्रारम्भिक गणनाले दिसानायकाले जितेको स्पष्ट भएको स्वीकारोक्ति व्यक्त गर्नुभएको छ ।

“मैले राष्ट्रपति रानिल विक्रमासिङ्घेका लागि धेरै प्रचार गरे पनि श्रीलङ्काका जनताले आफ्नो निर्णय लिएका छन् र अनुरा कुमारा दिसानायकाका लागि उनीहरूले दिएको जनादेशलाई म पूर्ण सम्मान गर्छु,” साब्रीले सामाजिक सञ्जालमा लख्नुभएको छ ।

श्रीलङ्काका एक करोड ७१ लाख मतदातामध्ये करिब ७६ प्रतिशतले शनिबार सम्पन्न निर्वाचनका लागि मतदान गरेका थिए ।

सन् १९७० र १९८० को दशकमा दिसानायकाको माक्र्सवादी पार्टीले दुई असफल विद्रोहको नेतृत्व गरेको थियो जसमा ८० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो।

उहाँको दललेसन् २०२० को संसदीय चुनावमा चार प्रतिशतभन्दा कम मत प्राप्त गरेको थियो तर श्रीलङ्काको सङ्कटले ५५ वर्षीय दिसानायकाका लागि देशको नेतृत्व गर्ने अवसर प्रदान गरेको छ । उहाँले श्रीलङ्काको ‘भ्रष्ट’ राजनीतिक संस्कृति परिवर्तन गर्ने आफ्नो प्रतिज्ञाको आधारमा समर्थनमा वृद्धि भएको बताउनुभएको छ ।

“हाम्रो देशलाई नयाँ राजनीतिक संस्कारको खाँचो छ,” शनिबार मतदान पछि उहाँले भन्नुभयो ।

–मितव्ययिता अस्वीकार 

विक्रमासिङ्घेले श्रीलङ्काको आर्थिक मन्दीका बेला अर्थतन्त्रलाई स्थिर बनाउने र महिनौंदेखिको खाद्यान्न, इन्धन र औषधिको अभाव अन्त्य गर्ने कडाइका उपायहरू जारी राख्न नयाँ जनादेशको खोजी गर्दै पुनः निर्वाचनको घोषणा गर्नुभएको थियो ।

आर्थिक मन्दीका कारण उत्पन्न नागरिक अशान्तिका कारण विक्रमासिङ्घे पूर्ववर्ती गोटबाया राजापाक्षको कार्यालय परिसरमा हजारौँको सङ्ख्यामा आक्रमण गरेपछि राजापाक्षले देश छोडेर भागेर विदेशबाट नै राजिनामाको घोषणा गर्नुभएको थियो । विक्रमासिङ्घेले आफ्नो दुई वर्षे कार्यकालमा सडकमा शान्ति बहाली गर्नुका सार्थ धराशायी बनेको अर्थतन्त्रलाई सही दिशा दिन सफल हुनुभएको थियो ।

सन् २०२१ देखि २०२२ को बीचमा श्रीलङ्काको गरिबीदर दोब्बर भएर २५ प्रतिशत पुगेको सरकारी तथ्याङ्कले देखाएको छ जसले गर्दा दैनिक ३.६५ अमेरिकी डलरभन्दा कममा जीवन यापन गर्ने मानिसको जनसङ्ख्या २५ लाखभन्दा बढी पुगेको छ ।  एएफपी

Facebook Comments