२०८३ भाद्र १०, बुधवार

चट्याङ पर्दा दुई दिनमा दश जनाको मृत्यु

       

काठमाडौं, २०७७ असार १२ गते शुक्रबार

मनसुन सक्रिय रहेका बेला बाढी, पहिरो, डुबान, चट्याङलगायत विभिन्न खालका प्राकृतिक विपत्तिजन्य घटना बढ्दैगएको छ । विगत २४ घण्टामा १६ वटा घटना भएका छन् ।

जसमध्ये पछिल्लो दुई दिनयता मात्र चट्याङका कारण दश जनाले ज्यान गुमाएका छन् । शुक्रबार मात्र तीन जनाको चट्याङका कारण मृत्यु भएको छ । अन्य चार जना घाइते भएका छन् । चट्याङका कारण मृत्यु हुनेमा खेतमा काम गरिरहेका र घरबाहिर रहेका मानिस बढी रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

गोरखापत्र अनलाईनका अनुसार उदयपुरमा तीन स्थान, सप्तरीमा दुई स्थान र कपिलवस्तुमा दुई स्थानमा गरी सात स्थानमा चट्याङ परेको हो । त्यस्तै, मनसुनका बेला पनि काठमाडौँ, बाँके, मकवानपुर, रामेछाप, कपिलवस्तु र डोटीमा गरी छ स्थानमा आगलागीका घटना भएको प्राधिकरणले जनाएको छ । जसबाट १३ लाख १० हजार रुपियाँ बराबरको क्षति भएको जनाइएको छ । यसैबीच, तराईका ठूला, मझौला तथा साना नदीमा आउँदो तीनदिन बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाका जलस्रोत विज्ञ सुनिल पोखरेलले जानकारी दिनुभयो ।

शुक्रबार बिहानको मापन अनुसार कन्काई, कोसी र यसका सहायक नदीमा बहाव बढ्दो छ । कमला, बागमती, नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव स्थिर अवस्थामा रहेको छ ।

Facebook Comments