Fri. Sep 20th, 2024

संविधानले मदरसालाई मूलधारमा ल्याएको भन्दै मदरसामा मनाईयो संविधान दिवस

भैरहवा (रुपन्देही), २०८१ असोज ३ गते बिहीबार  । संविधानले मुस्लिम धर्म अनुसार अध्ययन अध्यापन हुने मदरसा शिक्षालाई पनि मूलधारमा ल्याई समेटेको भन्दै मुस्लिम अगुवाहरुले खुशी ब्यक्त गरेका छन् । संविधान दिवस २०८१ को अवसरमा रुपन्देहीको सिद्धार्थनगर नगर पालिका वडा नम्बर १ मा रहेको जामिया कमरुन निशा निस्वाँ कलेजमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा मुस्लिम अगुवाहरुले संविधानले सबैलाई समेटेको भन्दै खुशी ब्यक्त गरेका हुन् ।

पहिलो पटक मदरसामा संविधान दिवस मनाईएको आयोजकले बताए । पूर्व शिक्षक समेत रहनुभएका मुस्लिम अगुवा महबुब खाँनले नेपालको संविधानले देशमा बसोबास गर्ने सबै जाती र धर्मका नागरिकलाई समावेश गरेको बताउनुभयो । सबै धर्म समुदायले आफ्ना धर्म स्वतन्त्रता पूर्वक मनाउन पाउनु नै यो संविधानको सुन्दर पक्ष रहेको उहाँले बताउनुभयो ।

यस्तै मदरसा व्यवस्थापन समितिका अध्यक्ष समसाद मुसलमानले मुठ्ठि दान, दस्वा, बिस्वा लगायतको दानबाट मदरसा सञ्चालन भई रहेको बताउनुभयो । स्थानिय तहको पहिलो कार्यकालमा मदरसामा केही अनुदान पाए पनि अहिलेको स्थानिय तहले कुनै सहयोग नगरेको उहाँले गुनासो गर्नुभयो ।

उहाले संविधाले सुनिश्चित गरेको अधिकारलाई सहयोग गर्न नसेके असहयोग पनि नगर्न आग्रह गर्नुभयो । कार्यक्रममा झण्डा फहराउदै रोहिणी गाउँपालिकाका पूर्व अध्यक्ष सनोज कुमार यादवले मदरसा शिक्षाले धर्म, संस्कृतिको साथै नैतिक शिक्षालाई बढावा दिने भएकोले यसको संरक्षण हुनु पर्ने बताउनुभयो । उहाँले संविधानतः यो अधिकार सुनिश्चित भएकोले यसको संरक्षणमा तीनवटै सरकारले अपनत्व लिनुपर्ने बताउनुभयो । रासस

Facebook Comments