Thu. Oct 31st, 2024

बिहीबारदेखि सुकिलुम्बा बिमानस्थलबाट हवाई उडान हुने   

मङ्गलबारे (इलाम), २०८१ भदौ १९ गते बुधबार । तीन महिनादेखि बन्द रहेको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल बिहीबारदेखि सञ्चालनमा आउने भएको छ । बर्खा सुरु भएसँगै खराब मौसमका कारण बन्द विमानस्थलबाट हवाई उडान पुनः सुरु हुन लागेको सुकिलुम्बा विमानस्थल इलामका स्टेसन इन्चार्ज दिनेश सुन्दासले बताउनुभयो ।

गत जेठ १३ गते नेपाल एयरलाइन्सको जहाजले उडान भरेयता उडान हुन सकेको छैन । त्यस्तै गत जेठ १७ गते काठमाण्डूबाट इलामका लागि उडेको जहाज खराब मौसमका कारण अवतरण गर्न नसकेर पुनः काठमाण्डू नै फर्केको थियो ।

गत बिहीबार पनि उडान गर्ने भनिए पनि यात्रु नभएपछि उडान हुन सकेको थिएन । इन्चार्ज सुन्दासले मौसममा सुधार नआउन्जेलसम्म उडान नहुने जानकारी दिँदै साताको प्रत्येक बिहीबार उडान गर्ने योजना रहेको बताउनुभयो ।

नेपाल एयरलाइन्सले २०७९ माघ १ गतेदेखि काठमाण्डू-इलाम-काठमाण्डू उडान भर्दै आएको थियो । यसअघि नेपाल एयरलाइन्सले सातामा आइतबार र बिहीबार दुई वटा उडान गरेको भए पनि अब भने बिहीबार मात्रै हुने जनाइएको छ ।

फाल्गुनन्द सुकिलुम्बा विमानस्थल इलाम नगरपालिका-९ मा पर्छ । यहाँबाट पहाडी जिल्ला इलामसहित पाँचथर र भारतका बिभिन्न यात्रुलाई काठमाण्डू आवतजावतमा सहज हुँदै आएको छ । रासस

Facebook Comments