Sun. Oct 27th, 2024

गाजा युद्ध अन्त्य गर्ने समय आएको छ : बाइडेन

वासिङ्टन डिसी, संयुक्त राज्य अमेरिका,२०८१ भदौ १६ गते आइतबार । अमेरिकी राष्ट्रपति जो बाइडेनले संक्षिप्त प्रतिक्रिया दिँदै अब गाजा युद्ध अन्त्य गर्ने समय आएको बताउनुभएको छ ।

गाजा पट्टीबाट एक इजरायली मूलका अमेरिकीसहित बन्धक बनाइएका छ बन्धकको हत्या भएको घटनाबाट आफू स्तब्ध भएको उहाँले बताउनुभएको छ । उहाँले गाजामा युद्ध अन्त्यका लागि आफूहरूले अहोरात्र खटिरहेको पनि बताउनुभयो ।
राष्ट्रपति बाइडेनले बन्धकको हत्या गरिनु ‘निन्दनीय’ भएको र यस घटनाले आफूलाई स्तव्ध पारेको बताउनुभयो । “हमासका नेताहरूले यी अपराधको मूल्य चुकाउनेछन्,”उहाँले भन्नुभयो ।

उहाँले अगाडि भन्नुभयो, “अब युद्ध अन्त्य गर्ने वेला भएको छ । प्यालेस्टिनी समूहले बन्धक बनाएका बाँकी बन्धकहरूको रिहाइका लागि सम्झौता गर्न अहोरात्र काम भइरहेको छ ।”

बाइडेनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हमासका आतङ्ककारीले मारेका बन्धकमध्ये एक अमेरिकी नागरिक हर्श गोल्डबर्ग-पोलिन रहेको हामीले पुष्टि गरेका छौँ ।”

इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता रियर एडमिरल डेनियल हागारीलाई उद्धृत गर्दै टाइम्स अफ इजरायलले दक्षिणी गाजाको रफाहबाट बरामद भएका छ वटा शव हमासले आईडीएफ सेना आउनुभन्दा केही समयअघि नै ‘निर्मम हत्या’ गरेका इजरायली बन्धकको भएको बताएको छ ।

यसैबीच उपराष्ट्रपति कमला ह्यारिसले एक वक्तव्य जारी गर्दै हमासलाई ‘निर्मूल पार्नुपर्ने’ र गाजालाई नियन्त्रण गर्न दिन नसकिने बताउनुभएको छ ।

ह्यारिसले २३ वर्षीया अमेरिकी नागरिक गोल्डबर्ग–पोलिनका आमाबुबा जोन र राहेलप्रति समवेदना व्यक्त गर्दै भन्नुभयो, “अमेरिकी नागरिकको सुरक्षाभन्दा मेरो कुनै उच्च प्राथमिकता छैन ।  एएनआई

Facebook Comments