Sun. Oct 27th, 2024

शेयर बजारमा भारी गिरावट

काठमाण्डू, २०८१ भदौ १६ गते आइतबार । साताको पहिलो कारोबार दिन आज शेयर बजारमा भारी गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ५३.६३ अंक घटेर २६९५.९३ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ ।

अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार १२ अर्ब २४ करोडको शेयर खरिदबिक्री भएकोमा आज १० अर्ब ५१ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज एउटा मात्र स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने तीन वटा स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सुपर माई हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो भने हिमालयन पावर पावर्टनको शेयरमूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ । यसैगरी कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य करिब ९ प्रतिशतले बढेको छ । पिपुल्स हाइड्रोपावर कम्पनी, माई खोला हाइड्रोपावर र थ्रि स्टार हाइड्रोपावरको शेयर भने आज नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

कारोबार रकमका आधारमा आज गुडविल फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको आज ५२ करोड ३१ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, हिमालयन रि इन्स्योरेन्स र नेपाल फाइनान्सको ३३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

१३ उपसमूहमध्ये आज म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ । म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.८० प्रतिशतले बढेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.४४ प्रतिशतले घटेको छ । यसैगरी, बैंकिङ्ग, होटल तथा पर्यटन र जलविद्युत् उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको छ भने विकास बैंक, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचकमा १ प्रतिशतभन्दा बढीको गिरावट आएको छ ।

Facebook Comments