Sat. Nov 2nd, 2024

आलुले बजार पाउन थालेपछि उत्साहित छन् जुगलका किसान   

चौतारा, २०८१ भदौ १२ गते बुधबार । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा उत्पादन भएको आलुले काठमाण्डूमा बजार पाउन थालेपछि किसान उत्साहित भएका छन् । हिमाली क्षेत्र भएका कारण अन्य बालीको उब्जनी राम्रो नहुने र आलु खेतीको सम्भावना प्रचुर रहेका कारण गत वर्षबाट किसान आलु खेतीतर्फ आकर्षित भएका थिए ।

जुगल गाउँपालिका-६, स्याउजेका देवीबहादुर श्रेष्ठले झण्डै यहाँबाट तीन टन आलु बिक्री वितरणका लागि काठमाण्डू पुर्‍याइएको बताउनुभयो । उहाँले स्थानीय जनप्रतिनिधिले सहजीकरण गरेपछि यसअघि घरायसी प्रयोगका लागि मात्र उत्पादन गर्दै आएका किसानले आलुको व्यावसायिक खेती गर्न थालेका बताउनुभयो ।

आलु उत्पादक किसान वसन्त श्रेष्ठले पालिकाको वडा नं ६ कार्यालयले व्यावसायिक आलुखेती गर्न हौसला दिँदै बजार व्यवस्थापनमा सहजीकरण गरेपछि आफूहरू यसतर्फ आकर्षित भएको बताउनुभयो । यसअघि यहाँका किसानले निर्वाहका लागि मात्र आलुखेती गर्दै आएकामा पछिल्लो समय धेरैले व्यावसायिक रूपमा खेती गर्न थालेका वडाध्यक्ष टङ्क तामाङले बताउनुभयो । उहाँले वडा कार्यालयले यहाँ उत्पादित आलु काठमाण्डू उपत्यकासम्म निःशुल्क ढुवानीको व्यवस्था मिलाएको जानकारी दिनुभयो ।

वडाध्यक्ष तामाङकानुसार चालु आर्थिक वडा नं. ६ मा मात्र करिब १२ टन आलु उत्पादन भएको छ । बर्खा मासमा गाउँसम्म गाडी नजाने हुँदा बर्खाअघि नै आलु ढुवानीलाई लक्षित गरी बाटो सोलिङ र स्तरोन्नति गरेको उहाँले जानकारी दिनुभयो । वडालाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्दै विषादीरहित अर्गानिक उत्पादनमा स्थानीयलाई जोडने र आर्थिक उपार्जनमा टेवा पु¥याउने कार्यालयको योजना रहेको अध्यक्ष तामाङ बताउनुहुन्छ । “आलु मात्र होइन विषादीरहित, प्राङ्गारिक मलको प्रयोग गरेर रैथाने बाली र तरकारी उत्पादनका लागि किसानलाई प्रोत्साहित गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

गाउँपालिका अध्यक्ष रेशमा स्याङ्वोले आलु उत्पादनले स्थानीयको आयआर्जनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । जुगलको मुख्य बजार ढाडेमा कृषिउपज सङ्कलन केन्द्र निर्माण भइरहेको जानकारी दिँदै उहाँले केन्द्र निर्माणपछि किसानलाई थप राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

मुडेको आलु जेठलको सिलढुङ्गामा सङ्कलन गरेर प्याकिङ र ट्यागिङ सकेर मात्रै राजधानी ढुवानी गर्ने गरिएको छ । लामोसाँघु जिरी सडकखण्ड निर्माणका क्रममा स्वीस सरकारले दुर्लभ मानिने रोजिटा जातको आलुको बीउ बाँडेपछि खेती सुरु भएको स्थानीय बताउँछन् । जिल्लाका विभिन्न स्थानमा पनि मुडेको आलुको माग उच्च हुँदै गएको छ । राजधानीबाहेक बाह्रबिसे, लामोसाँघु, खाडीचौरदेखि दोलालघाटमा राम्रो मूल्यमा यो आलु बिक्ने गरिएको स्थानीय किसान खडगबहादुर श्रेष्ठले बताउनुभयो  । “आलु बेचेरै वर्षको रु दुई लाखसम्म आम्दानी गर्ने गरेको छु”, उहाँले उत्साहित हुँदै भन्नुभयो, “पाँच हजार धार्नी आलु यस वर्ष फल्यो, अघिल्लोे वर्षको तुलनामा अहिले राम्रै कमाइयो । आलु बेचेरै घरबार चलाइरहेको छु ।”

मुडे र निगालेको एक टोलमा नै तीन हजार धार्नी आलु उत्पादन हुने गरेको छ । यी दुई गाउँबाट मात्रै झन्डै १० लाख किलो आलु उत्पादन भएको श्रेष्ठको भनाइ छ । “यस क्षेत्रका आठ सय परिवार आलु खेतीबाट परिवार धानिरहेका छन् । एक परिवारले आलुबाटै वार्षिक रु ५० हजारदेखि रु दुई लाखसम्म आम्दानी गर्छन्”, उहाँले भन्नुभयो ।

आलुका लागि उर्वरभूमि मानिएको जेठलका झन्डै ९५ प्रतिशत घरधुरी आलुको व्यावसायिक खेतीमा होमिएका छन् । सहकारी र स्थानीय ठेकेदारमार्फत यस क्षेत्रको आलु निर्यात हुने गरेको छ ।   रुपक पुरी/रासस

Facebook Comments