Fri. Nov 1st, 2024

उपराष्ट्रपति पदमा इरानका पूर्व शीर्ष कूटनीतिज्ञ जरिफको वापसी   

तेहरान, २०८१ भदौ ११ गते मंगलबार । इरानका पूर्वविदेशमन्त्री मोहम्मद जवाद जरिफले मङ्गलबार उपराष्ट्रपति पदमा फर्किने घोषणा गर्नुभएको छ ।

उहाँले यसै महिनाको प्रारम्भमा राष्ट्रपति मसुद पेजेस्कियानसमक्ष उपराष्ट्रपति पदबाट राजीनामा दिनुभएको थियो ।

पेजेस्कियानले अगस्ट १ मा जरिफलाई रणनीतिक मामिलाका लागि आफ्नो उपराष्ट्रपतिमा नियुक्त गर्नुभएको थियो । तर जरिफले १९ सदस्यीय मन्त्रिपरिषद्को ‘लाइन-अप’ का बारेमा आफ्नो निराशालाई उद्धृत गर्दै दुई साताभन्दा पनि कम समयमा राजीनामा दिनुभएको थियो ।

उहाँले आफ्ना छोराछोरीसँग दोहोरो अमेरिकी नागरिकता भएकाले आफूले दबाबको सामना गर्नुपरेको बताउनुभयो ।

इरानमा कन्जरभेटिभहरूले जरिफलाई उपराष्ट्रपति पदमा नियुक्त गरेकामा राष्ट्रपति पेजेस्कियानको आलोचना गरेका छन् । जरिफ विश्व शक्तिहरूसँग सन् २०१५ को ऐतिहासिक आणविक सम्झौताको वार्तामा आफ्नो महत्त्वपूर्ण भूमिकाका लागि अन्तर्राष्ट्रिय मञ्चमा परिचित हुनुहुन्छ ।

जरिफले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भन्नुभएको छ, “राष्ट्रपतिले गर्नुभएको अनुगमन र परामर्श तथा उहाँको लिखित आदेशपछि म रणनीतिक उपराष्ट्रपतिका रूपमा आफ्नो कर्तव्यहरू जारी राख्नेछु ।”

मङ्गलबार इरानका सर्वोच्च नेता आयातुल्लाह अली खमेनीसँगको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकमा भाग लिनुभएका जरिफले पनि आफ्नो पदमा नयाँ मन्त्रिपरिषद्को प्रशंसा गर्नुभयो ।

गत साता इरानको नयाँ मन्त्रिपरिषद्का सबै सदस्यलाई संसद्बाट विश्वासको पूर्ण मत प्राप्त भएको थियो ।

संयुक्त राष्ट्रसङ्घमा इरानको प्रतिनिधित्व गरिसक्नुभएका जरिफले उदारवादी राष्ट्रपति हसन रुहानीको नेतृत्वमा सन् २०१३ र सन् २०२१ को बीचमा मुलुकको शीर्ष कूटनीतिज्ञका रूपमा सेवा गर्नुभएको थियो ।

अमेरिका एकपक्षीय रूपमा बाहिरिएपछि सन् २०१५ को आणविक सम्झौता तीन वर्षपछि प्रभावकारीरूपमा भङ्ग भएको थियो । तर यसलाई जरिफको जुझारु वार्ताकारका रूपमा प्रतिष्ठालाई बलियो बनाउन सहयोग प्राप्त भएपछि इरानलाई पश्चिममा पुनः खुला गर्यो । एएफपी

Facebook Comments