Mon. Dec 23rd, 2024

इरानमा बस दुर्घटना हुँदा २८ जना पाकिस्तानीको मृत्यु     

तेहरान, २०८१ भदौ ५ गते बुधबार ।  इराकमा शिया मुस्लिम धर्मावलम्बीको धार्मिक अनुष्ठानका लागि जाँदै गरेको बस दुर्घटना हुँदा कम्तीमा २८ जना पाकिस्तानी तीर्थयात्रीको मृत्यु भएको इरानको राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पैगम्बर मोहम्मदका नाति इमाम हुसेनको शोकको ४० औँ दिनको अवसरमा मनाइने सिया धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक अनुष्ठान अर्बेन स्मृति समारोहमा भाग लिन पाकिस्तानी तीर्थयात्रीहरू इरान हुँदै इराकतर्फ गएका थिए ।

“मङ्गलबार राति ५१ जना पाकिस्तानी तीर्थयात्री चढेको एउटा बस मध्य प्रान्त याज्दको देहशिर-ताफ्ट सुरक्षा जाँच केन्द्रअगाडि पल्टिएपछि आगलागी भएको इरानको एक राष्ट्रिय टेलिभिजनले जनाएको छ ।

“बुधबार विहानसम्म २८ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्,” इरानी टेलीभिजनले समाचारमा उल्लेख गरेको छ।

याज्द प्रान्तका सङ्कट व्यवस्थापन प्रमुख अलि मालेक-जादेहले घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताउँदै मृतक सङ्ख्यामा थप वृद्धि हुनसक्ने बताउनुभएको छ ।

मालेक-जादेहले भन्नुभयो, “मृत्यु हुनेमा ११ महिला र १७ पुरुष रहेका छन् । घाइते २३ जनामध्ये छ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । अन्य सात जनाको अवस्था गम्भीर छ भने १० जनाको अवस्था सामान्य छ ।”

गत वर्ष इराकको कर्बला शहरमा हुसेन र उहाँका भाइ अब्बासलाई गाडिएको स्थानमा करिब दुई करोड २० लाख तीर्थयात्रीले उक्त स्मृतिसभा सहभागीता जनाएका हुन् । एएफपी

Facebook Comments