Mon. Dec 23rd, 2024

भोजपुरको आमचोकको चौध सय रोपनीमा चियाखेती   

भोजपुर, २०८१ भदौ ५ गते बुधबार । पर्यटकीय क्षेत्रको विकाससँगै स्थानीयको आयस्तर सुधार गर्ने लक्ष्यले भोजपुरको आमचोक गाउँपालिकाले चियाखेती थालेको छ । चियाखेतीको प्रशस्त सम्भवना बोेकेका यहाँका खाली पाखापखेरालाई हरियाली बनाउँदै आयस्तर वृद्धिसँगै रोजगारी सृजना गर्न गाउँपालिकाले चियाखेती थालेको हो ।

गाउँपालिकाले आफ्नै लगानीमा यहाँको करिब एक हजार चार सय रोपनीमा चियाखेती गरेको छ । खाली जमिनको सदुपयोग गर्दै पर्यटीय क्षेत्रको रुपमा स्थापित गराउने सोचका साथ गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ देखि योजनाबद्ध रुपमा चियाखेती गरिरहेको छ । हालसम्म चियाखेतीका लागि गाउँपालिकाले रु चार करोड ५ं० लाख लगानी गरिसकेको गाउँपालिका अध्यक्ष अशोक राईले बताउनुभयो । उक्त पालिकाका वडा नं. १ २, ३ र ६ मा खेती विस्तार थालिएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो । यी वडामा प्रशस्त खाली जमिन छभने यहाँको प्राकृतिक छटाले पर्यटनको राम्रो सम्भावना बोकेको अध्यक्ष राईले बताउनुभयो ।

“गाउँपालिकाले योजनाबद्ध रुपमा चियाखेती विस्तार गरिरहेको छ”, अध्यक्ष राईले भन्नुभयो, “यहाँका खाली जमिनको सदुपयोग गर्दै आयस्तरमा सुधारसँगै पर्यटनको विकास गर्ने लक्ष्यले काम गरिरहेका छौँ । हालसम्म करिब एक हजार चार सय रोपनी क्षेत्रमा खेती विस्तार भइसकेको अवस्था छ ।” आमचोक गाउँपालिकाको माथिल्लो भेगमा धेरै खाली चौर रहेकोले त्यहाँ चियाखेतीको राम्रो सम्भावना भएको उहाँले बताउनुभयो । गाउँपालिकासँगै स्थानीयलाई पनि निजी खाली जमिनमा चियाखेती विस्तारमा प्रोत्साहन गर्न कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो । “यहाँका खाली निजी जमिनमा पनि खेती विस्तारमा स्थानीयलाई उत्प्रेरित गराउन यो वर्षबाट प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्दैछौँ ।”

स्थानीयको जनसहभागिता बढाउँदै व्यवस्थित र प्रणालीगत रुपमा अघि बढाउन आमचोक चिया तथा कफी सहकारी गठन गरिएको अध्यक्ष राईले बताउनुभयो । गाउँपालिकाले यहाँका स्थानीयको आयस्तरको वर्गीकरण गरेर कमजोर आर्थिक क्षमता भएका स्थानीयलाई शेयरको व्यवस्था गरेको उहाँले बताउनुभयो । वर्गीकरणमा ‘घ’ वर्गमा परेका गरिब तथा विपन्न परिवारलाई गाउँपालिकाले रु नौ हजार र स्वयम व्यक्तिले रु एक हजार गरी १० हजार बराबरको शेयर वितरण गरिएको अध्यक्ष राईले बताउनुभयो । यहाँका अतिगरिब विपन्न एक हजार एक सय ६३ परिवारलाई शेयर वितरण गरिएको उहाँले बताउनुभयो ।

गाउँपलिकाले ऐन निर्माण गरेर चिया विकास संस्था सञ्चालन गर्ने उहाँले बताउनुभयो । यो संस्थाले गाउँपालिकाको मातहातमा रहेर भावी दिनमा चिया र कफीको क्षेत्रमा बृहत्तर रुपमा थप काम गर्ने उहाँले बताउनुभयो । उत्पादित चियाको प्रशोधन गर्नका लागि वडा नं. २ मा चिया कारखाना स्थापना भइरहेको प्रमुख प्रशासकीय अधिकृत धनकुमार राईले बताउनुभयो । गाउँपालिकाको रु ४५ लाख र कोशी प्रदेश सरकारको रु एक करोड लागतमा निर्माण भइरहेको प्रशोधन केन्द्र निर्माणको काम अन्तिम चरणमा रहेको उहाँको भनाइ छ ।

“गाउँपालिका क्षेत्रको चियाखेतीको सम्भवनालाई मूर्तरुप दिन बृहत रुपमा चियाखेती विस्तारको काम भइरहेको छ”, प्रशासकीय अधिकृत राईले भन्नुभयो, “उत्पादित चियाको प्रशोधनका लागि कारखाना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पछिल्लो समयमा आफ्नै नर्सरी स्थापना गरेर खेती विस्तार भइरहेको छ । यसबाट स्थानीयलाई रोजगारीसमेत प्राप्त भइरहेको अवस्था छ ।”

दीर्घकालीन सोचका साथ चिया विस्तार तथा उत्पादित चियाको बजारीकरणसँगै थप व्यवस्थापन गर्ने काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत राईले बताउनुभयो । चिया नर्सरीमा अर्को सिजनमा रोप्नका लागि करिब पाँच लाख बिरुवा उत्पादन भइरहेको गाउँपालिकाले जनाएको छ । चियासँगै कफीखेतीको विस्तारका लागि समेत काम भइरहेको छ । कफीको नर्सरी स्थापना गरेर विस्तारको काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

Facebook Comments