Thu. Oct 17th, 2024

दिवङ्गत आफन्तको सम्झना गर्दै बनेपा र धुलिखेलमा गाईजात्रा मनाइँदै   

काभ्रेपलाञ्चोक, २०८१ भदौ ४ गते मंगलबार । एक वर्षभित्र दिवङ्गत आफन्तजनको सम्झनास्वरुप आत्माको शान्तिको कामना गर्दै नेवार समुदायद्वारा मनाइने गाईजात्रा पर्व काभ्रेका दुई ठूला सहरमा मनाइँदैछ । विशेषगरी सदरमुकाम धुलिखेल र बनेपा नगरमा यो जात्रा भाद्र कृष्ण प्रतिपदाको दिन अर्थात् आज मनाइँदैछ ।

यस पर्वमा परिवारका आफन्तजनको सहभागितामा गाई र मानिसलाई शृङ्गारी बजार परिक्रमा गराई मनाइन्छ । विशेषगरी नेवारी संस्कृतिको परम्पराअन्तर्गत यस जात्रालाई बर्सेनि निरन्तरता दिएको पाइएको हो । “आफ्ना धर्म संस्कृति-पराम्पराअनुसार बर्सेनि जात्रालाई निरन्तरता दिँदै आएका छौँ”, बनेपाका माधव श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार जात्रामा परिवारका सदस्य तथा नातेदारको सहभागिता रहने गर्दछ ।

केही वर्षअघिसम्म बनेपा र धुलिखेलमा मल्लकालीन नेवारी सस्ंकृति धुमधामका साथ मनाइने गरिएको बनेपाका साहित्यकार मोहन दुवाल बताउनुहुन्छ । उहाँका अनुसार भक्तपुरको गाईजात्रा संस्कृति-मौलिकतालाई यहाँका नेवार समुदायले अनुशरण गर्दै नाटक, व्यङ्ग्य-प्रहसन तथा संस्कृति झल्कने नाचसहित मनाउँदै आएका हुन् । मल्लकालीन अवस्थादेखि नै गाईजात्रा पर्व भक्तपुरबाट सयौँ वर्षअघि सुरुआत गरिएको विभिन्न लेख-अभिलेखबाट प्रष्ट देखिने उहाँ बताउनुहुन्छ ।

बनेपा, धुलिखेल, पनौती, पाँचखाल, साँगा, नालालगायत जिल्लाका मुख्य सहरबजारमा नेवार समुदायका परिवारले गाई र मानिसलाई श्रृङ्गारी नगर परिक्रमा गराउँछन् । जात्रामा सहभागी केहीले जात्राको पोशाकको मुखुण्डो लगाई विभिन्न वाद्यवादन सामग्री बजाउँदै नाच प्रदर्शन गरी नगर परिक्रमा गर्दछन् । परिक्रमाका क्रममा श्रद्धालुले दूध, फलफूल, रोटी, दही-चिउरा, खाद्यान्न तथा दक्षिणा दान गर्ने प्रचलन रहँदै आएको छ ।

जात्राका क्रममा नगर परिक्रमा गर्दा वर्षभरि मृत्यु भएका व्यक्तिहरू ‘गाईको पुच्छर समाई वैतरणी पार’ हुन्छन् भन्ने धार्मिक जनविश्वास छ । विशेषतः पितृमोक्षका रुपमा गाईजात्रा पर्वलाई स्थापित गराइएको छ, बनेपाका इतिहासविद् स्व ज्ञानकाजी मानन्धरको बनेपाको इतिहास पुस्तकमा उल्लेख गरिएको छ ।

राजा प्रताप मल्लले पुत्रशोकले भावविह्ल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक ब्यहोर्नुपर्छ भन्ने सन्देश दिन ‘जनतालाई आ-आफ्नो घरका मरेको व्यक्तिको नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु’ भनी आदेश दिएका आधारमा यो पर्व सुरु गरिएको ऐतिहासिक तथ्य रहेको पाइन्छ । यसबाट पनि रानीको मन शान्त नभएपछि प्रहसन, नाटक र नाच प्रस्तुत गरिएअनुसार गाईजात्रामा प्रस्तुत गर्दै आइएको जनश्रृति रहेको छ । सोही समयमा सुरु गरिएको गाईजात्रा हनुमाढोकास्थित ‘राजप्रासाद’ भएर जानुपर्ने प्रथा हालसम्म जारी रहेको बताइन्छ ।

विशेषगरी काठमाण्डू, भक्तपुर, ललितपुरलगायत नेवारी समदायको बाक्लो बस्ती रहेको स्थानमा मनाइने यो जात्रा काभ्रेपलाञ्चोकमा पनि सोही समयदेखि नै मनाइँदै आइएको हो । पछिल्लो केही वर्षदेखि जिल्लाको अन्य स्थानमसमेत जात्रा विस्तार गरिँदै आइएको छ । ‘क्वाँटी पूर्णिमा’को उपमा दिइने यस जात्रा जनैपूर्णिमाको भोलिपल्ट मनाइने भए पनि तिथिले आज नै परेको बताइन्छ । जनैपूर्णिमा र गाईजात्राको दिन भने क्वाँटी खाने प्रचलन रहँदै आएको छ ।

यसैबीच जनैपूर्णिमा तथा रक्षाबन्धनका अवसरमा तेमाल गाउँपालिकाले धार्मिक जात्रा मनाउन हिजोदेखि तीन दिन सार्वजनिक बिदासमेत दिएको छ । तेमालमा अवस्थित सत्यनारायण मन्दिर परिसरमा जनैपूर्णिमाका अवसरमा परापूर्वकालदेखि नै विशेष धार्मिक जात्रा हुने भएकाले उक्त जात्रामेला तेमालको सांस्कृतिक पर्वका रुपमा विकसित भएको जनाउँदै गाउँपालिकाले बिदा दिएको जनाएको छ ।

उक्त जात्रामा तेमाललगायत आसपासका स्थानीय तह र अन्य छिमेकी जिल्लाबाट समेत दर्शनार्थी उपस्थित भई अनुष्ठान गर्ने गर्छन् । यस जात्रा र मेला मनाउन गाउँपालिकाअन्तर्गतका कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था तथा वडा कार्यालय बन्द हुने सूचनामा जनाइएको छ । रासस

Facebook Comments