थाई प्रधानमन्त्री श्रेथा अदालतबाट बर्खास्त
काठमाण्डू, २०८१ साउन ३० गते बुधबार । थाइल्याण्डको संवैधानिक अदालतले प्रधानमन्त्री श्रेथा थाभिसिनलाई पदीय मर्यादामा आँच आउने कार्य गरेको अभियोग सम्बन्धमा फैसला दिँदै जिम्मेवारीबाट मुक्त गर्न आदेश दिएको छ ।
आज अदालतको आदेशपछि अपदस्थ हुनु भएका फेउ थाई पार्टीका नेता तथा प्रधानमन्त्री श्रेथा थाभिसिनले आफूलाई नैतिक नियम उल्लंघन गरेका कारण पदबाट हटाउने अदालतको फैसलाको सम्मान गर्ने बताउनु भएको छ ।
फौजदारी अभियोग लागेका व्यक्तिलाई मन्त्री नियुक्त गर्ने निर्णयबारे आज भएको थाइल्याण्डको संवैधानिक अदालतको फैसलापछि प्रधानमन्त्री श्रेथा थाभिसिन पदमा रहन नसक्ने हुनुभएको हो । अदालतले राज्यको प्रमुख प्रतिपक्षी दल मुभ फरवार्ड पार्टीलाई विघटन गरी पार्टीका पूर्व नेता पिता लिम्जारोएनरातलाई १ दशकका लागि राजनीतिमा प्रतिबन्ध लगाएको १ हप्तापछि यो फैसला आएको हो ।
पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राको परिवारसँग निकट रहनु भएका वकिल पिचित चुएनबानलाई मन्त्रीमा नियुक्त गर्नुभएका कारण श्रेथामाथि नैतिकताको नियम उल्लंघन गरेको अभियोग लगाइएको छ । पिचितलाई सन् २००८ मा भ्रष्टाचार सम्बन्धी कसूरमा ६ महिनाको जेल सजाय सुनाइएको थियो । एएफपी