Sun. May 10th, 2026

ज्येष्ठ नागरिकलाई सामूहिक रूपमा सम्मान   

       

वालिङ (स्याङ्जा), २०८१ साउन २६ गते शनिबार । स्याङ्जाको वालिङमा १५ ज्येष्ठ नागरिकलाई सामूहिक रूपमा सम्मान गरिएको छ । मातापिता प्रतिष्ठान र वालिङ नगरपालिकाको सहकार्यमा नगरभित्रका १४ वटै वडाका १५ ज्येष्ठ नागरिकलाई आज एक कार्यक्रमका बीच सम्मान गरिएको हो ।

पहिलो चरणमा नगरपालिकाका सबैभन्दा ज्येष्ठ नागरिकलाई सामूहिक रूपमा सम्मान गरिए र यसलाई निरन्तरता दिने योजना रहेको प्रतिष्ठानका अध्यक्ष श्यामप्रसाद ढुङ्गानाले बताउनुभयो । “वडा कार्यालयले ज्येष्ठताका आधारमा नाम सिफारिस गरेअनुसार १५ जना ज्येष्ठ नागरिक एकै स्थानबाट सम्मान गरेका हौँ”, उहाँले भन्नुभयो, “यसलाई आगामी वर्षहरूमा पनि निरन्तर रूपमा अगाडि बढाउने छौँ ।”

ज्येष्ठ नागरिकप्रति परिवार तथा समाजले हेर्ने दृष्टिमा परिवर्तन ल्याउने र स्याहारसुसारमा ध्यान केन्द्रित गराउने उद्देश्यले प्रतिष्ठान कार्यक्रम गरिरहेको अध्यक्ष ढुङ्गानाले बताउनुभयो । “ज्येष्ठ नागरिक हाम्रा सम्पत्ति, अभिभावक र अनुभवका खानी हुन् । जीवनको उत्तरार्धमा सम्मानजनक तरिकाले जीवनयापन गर्न गराउनका लागि साङ्केतिक रूपमा सम्मानलगायत कार्यक्रम गर्दै आएका हौँ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा ११ पुरुष र चार महिलालाई सम्मानपत्र, दोसल्ला तथा नगदसहित सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा वडा नं. १ बाट दुईजना र अन्य वडाबाट एक-एक जना हुनुहुन्थ्यो । उहाँहरू ८५ वर्षभन्दा माथि उमेर समूहका हुनुहुन्छ ।

वालिङ-८ की ९३ वर्षीया चन्द्रकला सुवेदीले सम्मानित हुन पाउँदा खुसी लागेको बताउनुभयो । बुढेशकालमा खोजीखोजी सम्मान गर्दा यसले राम्रो सन्देश दिएको उहाँको धारणा छ ।

उहाँहरूलाई सम्मान गर्नुहुँदै गण्डकी प्रदेशसभा अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले ज्येष्ठ नागरिकलाई सम्मान गर्दा यसले समाज तथा परिवारमा सकारात्मक सन्देश प्रवाह भएको बताउनुभयो । ज्येष्ठ नागरिक अनुभवका खानी भएकाले उहाँहरूसँग भएको अनुभवलाई ग्रहण गर्नसक्नुपर्नेमा उहाँको जोड थियो ।  रासस

Facebook Comments

सम्बन्धित समाचार