Fri. May 3rd, 2024

“एमसीसी” नेपाली सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रता विरोधीः महासचिव विप्लव

काठमाडौं, २०७७ जेठ १८ गते आईतबार

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपाली सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रता विरोधी रहेको बताउनु भएको छ ।

विप्लवले आईतबार विज्ञप्ति जारी गरी प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसको समर्थनमा संसदबाट एमसीसी पास गर्न लागेको भन्दै आफ्नो पार्टीको ध्यानकर्षण भएको बताउनु भएको छ । विज्ञप्तिमा विप्लवले जनमत विपरीत एमसीसी पास गरिएमा नेपाली देशभक्त आमनागरिक, बुद्धिजीवि, राष्ट्रिय पार्टीहरुलाई स्वाधीनताका पक्षमा अविलम्ब सशक्त प्रतिरोधमा उत्रिन आग्रह गर्नुभएको छ । साथै वहाँले एमसीसी संसदबाट पारित गरे त्यसको सशक्त प्रतिरोध गर्ने चेतावनी समेत दिनुभएको छ ।

जारी विज्ञप्तिमा “हामी एमसीसी सम्झौताले अमेरिका नेपाल सम्बन्धमा समेत गम्भिर नकारात्मक परिणाम ल्याउने भएकाले अमेरिकी सरकारलाई पनि यो सम्झौता नेपालमा नलाद्न र नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप नगर्न आग्रह गर्दछौं” भनिएको छ ।

साथै विज्ञप्तिमा जेठ २८ गतेसम्म चरणवद्ध रुपमा संघर्षका कार्यक्रम समेत घोषणा गरिएको छ । जसमा जेठ १९ र २० गते एमसीसी सम्झौता जलाउने, जेठ २१ गते केपी ओली र शेरबहादुर देउवाको पुतला जलाउने, जेठ २२ गते पर्चा वितरण तथा बेलुकी मशाल जुलुस निकाल्ने, जेठ २८ गते पोस्टर टाँस्ने र विभिन्न संघर्षहरु सहित अमाहड्तालसम्म घोषणा गरिने जानकारी गराईएको छ ।

Facebook Comments