Mon. Dec 23rd, 2024

साउन लागेसँगै चुरापोतेको व्यापार बढ्यो   

जलेश्वर (महोत्तरी),२०८१ साउन २ गते बुधबार । साउन लागेपछि यहाँका महिलाले हरियो चुरा र पोते लगाउने परम्पराले चुरापोतेको व्यापार बढेको छ । जिल्लामा साउन लागेदेखि रु सात लाखको चुरापोतेको व्यापार भएको यहाँस्थित उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

जिल्लाको जलेश्वर, मटिहानी, बर्दिबास, गौशाला, औरही, बलवा, मनरा, पिपरा, भ्रमरपुरालगायत बजार क्षेत्रबाट दुई दिनमा रु सात लाखको चुराको व्यापार भएको उद्योग वाणिज्य सङ्घका महासचिव शिवचन्द्र चौधरीले जानकारी दिनुभयो । यसअघिका वर्षमा पनि साउनमा मात्रै रु ३० लाख बढीको चुरापोतेको व्यापार हुने गरेको उहाँले बताउनुभयो ।

सदरमुकाम जलेश्वरमा लाग्ने गरको चुरापोते बजार, शृङ्गार पसल तथा लहेरी (चुरा बेच्ने) महिलाले गाउँगाउँ गएर बेच्ने स्थानमा चुरापोते किन्ने महिला, किशोरी, युवतीहरुको घुइँचो लाग्ने गरेको जलेश्वर-२ का शृङ्गारको व्यापारी राम महतोले बताउनुभयो । जिल्लाका अधिकांश हाटबजारमा हरियो, पहेँलो, रातो चुरा तथा पोते किन्ने महिलाको घुइँचो लाग्ने गरेको उहाँले बताउनुभयो ।

विवाहित महिलाले अनिवार्य रुपमा हरियो चुरा र पोते लागने परम्पराले गर्दा साउनमा अन्य समयको तुलनामा बढी व्यापार हुने गरेको जलेश्वर-२ का शृङ्गार व्यापारी मुस्ताक अन्सारीले बताउनुभयो । “जिल्लामा यसअघिका साउनमा चुरापोतेको व्यापारबाट रु ३० लाखसम्म आम्दानी हुन्थ्यो । यस वर्ष दुई दिनको व्यापारको अवस्थाले आम्दानी बढी हुने अनुमान गरेका छौँ”, वाणिज्य सङ्घका महासचिव चौधरीले भन्नुभयो ।

जलेश्वर बजारमा दैनिक चुराको बेच्दै आउनुभएकी मुस्ताक लहेरीले दुई दिनमा रु १० हजारभन्दा बढी आम्दानी भएको बताउनुभयो । गत वर्ष महिनाभरि रु एक लाख आम्दानी भएको जनाउँदै यो वर्षको साउनमा तुलनात्मक रुपमा बिक्री बढेकाले आम्दानी पनि बढी हुनसक्ने उहाँले उल्लेख गर्नुभयो ।

गौशाला बजारकी बेचनी खातुनले दुई दिनमा रु १५ हजार, बलबा बजारकी फुलगेन लहेरी र औरही बजारकी दुखनी खातुनले समान रु २० हजार, मनराकी हरीया लहेरनीले रु १५ हजारको चुरापोते व्यापार भएको बताएका छन् । साउन लागेसँगै जिल्लाका प्रत्येक गाउँ तथा सहरका चुरा पसलमा हरियो चुरा र पोते लगाउने महिलाको घुइँचो लाग्ने गरेको छ ।  रासस

Facebook Comments