पुस्तक समीक्षा : जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने ‘भुक्तमान’
काठमाण्डू,२०८१ असार २३ गते आईतबार । पिछडिएको क्षेत्रका निम्नमध्यमवर्गीय परिवारले ठुलो रोगबाट मुक्ति पाउन कतिसम्म सङ्घर्ष गर्नुपर्दाे रहेछ भन्ने कुरा रोग लागेपछि वा सो परिवारको सदस्य हुँदा मात्र थाहा हुन्छ । बिमारसँग जुध्दैमा त्यसबाट मुक्ति पाउने पनि सुनिश्चितता पनि हुन्न ।
पत्रकार धीरेन्द्र सिनालको ‘भुक्तमान : राज्यको अकर्मण्यता र नागरिकको निरीहता’ (साङ्ग्रिला मिडिया ग्रुप प्रालि,काठमाण्डू २०८०) गैरआख्यान कृतिले रोगी परिवारका जिम्मेवार सदस्यले पत्नी र पिताको मिर्गाैला बिग्रने असाध्य रोग र त्यसका उपचारमा भोग्नुपरेको आर्थिक-सामाजिक-मानसिक सास्ती मात्र देखाउँदैन, नीतिनिर्माताले नबनाएको जनमुखी स्वास्थ्य कार्यक्रम तथा विद्यमान नीतिनियमको अनुगमन र कार्यान्वयन अभावमा भुइँमान्छेले भोगेको भुक्तमानको पनि विवरण दिन्छ ।
बैतडीमा जन्मनुहुर्कनुभएका, एक दशक रेडियो प्रसारकका रूपमा काम गर्नुभएका र करिब आठ वर्ष अन्तरराष्ट्रिय गैरसरकारी संस्थामा संलग्न सिनालले पत्नी सोनु र पिता सुरतलाई मिर्गाैला रोगले सताएपछि नेपाल र भारतमा भोग्नुपरेको हैरानी मात्र कृतिमा वर्णन गर्नुभएको छैन, आफ्नी पत्नीको उपचारका क्रममा ‘नेपालको लथालिङ्ग स्वास्थ्य प्रणाली तथा भताभुङ्ग आर्थिक अवस्थाका कारण बिरामीको परिवारमा आइपर्ने पारिवारिक तिक्तता र बेमेल’ लाई पनि २३ अध्यायमा राम्रोसँग पस्कनुभएको छ । पत्नीसहित बेला बेला थोरै तलबमा नै काम गर्नुभएका लेखकले जागिरका क्रममा बेलाबखत उनीसँग टाढा रहेर पनि उपचारका लागि सक्दो प्रयास भने गर्नुभए पनि उनलाई बचाउन भने सफल हुन सक्नुभएन ।
गोडाका हाडहरूलाई जोड्ने तन्तु फाटिएको, खुट्टा सुन्निएको, गर्भवती हुँदाका उतारचढाव भोगेकै दृष्टि समस्याका बिच भ्रूण खेर गई आखिर आफ्नो क्षमताले भेटेसम्म उपचार गराउँदा पनि लेखकले ३९ वर्षीया पत्नी र ६३ वर्षीय पिता असमयमै गुमाउँदा गरेको मसिनो वर्णनले पाठक रोगी र आर्थिकावस्थाले थिङ्थिलो बन्नुभएका लेखकप्रति अति नै द्रवित हुन्छ र मुलुकको स्वास्थ प्रणालीप्रति निरास र आक्रेशित बन्न पुग्छ । “स्वास्थ्य सेवा मौलिक हक भनी नेपालको संविधानमा लेखिए पनि निःशुल्क पाउनु भनेको त ठुलो सुविधा खोजे जस्तो ठानिन्छ ”, लेखकले यसरी संविधानमा लेखिएको कुरा सर्वसाधारणले नपाउँदा राज्यप्रति यसरी व्यङ्ग्य गर्न खोज्नुभएको छ ।
देशका अस्पतालमा चिकित्सक नभेटिने र निजीमा भेटिए पनि चर्काे शुल्क लाग्ने अवस्था सर्वसाधारण नागरिकले भोगेको साझा समस्या नै हो । अझ नेपालका अस्पतालमा निःशुल्क भनेर घोषणा गरिएका औषधि र उपचार सेवाबाट वञ्चित भई बाहिर किन्नुपर्ने र लिनुपर्ने बाध्यताले बिरामी र परिवारको उत्साह कुठाराघात भएको पीडा कृतिमा व्यक्त भएको छ । भारतका केही अस्पतालमा अस्पताल दर्ताका लागि निःशुल्क टिकट र केही अस्पतालमा बिरामीलाई खाजा पनि दिइने तर स्वदेशमा सामान्य सुविधा पनि नपाउँदाको अनुभव लेखक यसरी सुनाउनुहुन्छ, “तर हाम्रो देशमा (त) स्वास्थ्य सेवा धेरै नै व्यापारीकरण (पो) भइसकेको छ । ”
औपन्यासिक शैलीमा पूर्वदृश्यलाई अगाडि लेखिएको प्रस्तुत कृति कुनै प्रेमकथाभन्दा कम पनि छैन । तीन सय पृष्ठमा लेखकले आफ्नो परिवार, विवाह, प्रेम, सञ्चारकर्म, रोग लाग्दाको अवस्था, उपचारका लागि भारत र नेपालमा गरिएको दौडधुप, कोरोनाको प्रकोपले आवतजावतमा परेको कठिनाइ, रकमको जोहो गर्दा उठाउनुपरेका जोखिम, चिरपरिचत-आफन्त र पराइले गरेका व्यवहार-दुव्र्यवहार, रकम जम्मा गर्ने प्रयासकै बीच पत्नीको शिव प्रत्यारोपण अपरिचितले देखाएको मानवधर्म आदिलाई सविस्तार वर्णन गरेर व्यक्तिगत कथा-बेथा मात्र नभई रोग लाग्दा सर्वसाधारण नागरिकले पाउन सक्ने दुःखको झलक पनि प्रतिविम्बन गर्नुभएको छ । आफ्नो परिवारले सामान्य डायलिसिका लागि हन्डर खाइरहेका बेला बहालवाला प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीले राज्यको सुविधा उपयोग गर्दै मिर्गाैला प्रत्यारोपण गरेकामा असन्तोष प्रकट गर्नुहुन्छ । उहाँले देशमा न त डायलिसिसको उचित प्रबन्ध छ, न प्रत्यारोपणको भन्ने गुनासो पोख्दै “किन यो (समाजवादोन्मुख) राज्य शासक र शासितका लागि एउटै बन्न सकेन” भनी प्रश्न पनि गर्नुभएको छ । ‘समयमै सृुविधासम्पन्न अस्पतालको सेवा, बिरामीमुखी स्वास्थ्यकर्मी र मिर्गौला प्रत्यारोपणको सहज व्यवस्था’ भएको भए लेखक प्रस्तुत पुस्तक लेख्न प्रवृत्त हुनुहुन्नथियो होला । परिवारका सदस्य गुमाउनुपर्दाका पीडामा पनि लेखकले घटनाहरूको मसिनो वर्णन गरेर पाठक तथा समग्र नेपाली स्वास्थ्य क्षेत्रको ध्यान तान्न सक्नुभएको छ । “सोनुको मृत्युको कारण उनको रोग मात्र नभई नागरिकप्रति राज्यको गैरजिम्मेवारी पनि हो । र उनको मृत्यु राज्यका लागि एक नागरिकको क्षति पनि हो”, लेखक स्पष्ट भन्नुहुन्छ । भारतमा निःशुल्कसरह पाएको गुणस्तरीय सेवा र दयालु चिकित्सकका तुलनामा स्वदेशको स्थिति देख्दा लेखकले हाम्रा चिकित्सकको समग्र व्यवहारप्रति निम्नस्तरकै गाली गर्नुभएको छ, जसले एक पल्ट पाठकलाई सोच्न बाध्य बनाउँछ । “ राष्ट्रियता बलियो हुने त नागरिकले पाउने सेवा सुविधाबाट रहेछ ।” उहाँ लेख्नुहुन्छ ।
पुस्तकमा त्यही ‘आम नागरिकले स्वास्थ्य सेवा पाउन खाएको हन्डर, राज्यको स्वास्थ्य प्रणालीका चित्रण र राजनीतिक सोर्सफोर्स नभएका आम मानिसको भोगाइलाई लिपिबद्ध’ गरिएको छ । ‘राज्यले दिने सेवाबाट बिमुख हुँदा एउटा रोगले कसरी परिवारलाई छिन्नभिन्न पारेर अन्योलको भुमरीमा धकेल्छ’ भन्ने ज्ञान दिने यस कृतिले सरकार तथा नीतिनिर्मातालाई जनमुखी स्वास्थ्य नीति र कार्यक्रम बनाउन तथा अनुगमन गर्न पनि घच्घच्याउने छ ।
गैरआख्यानात्मक कृतिलाई दिइने उत्तमशान्ति पुरस्कार वि.सं. २०७९ का लागि बालरोग विशेषज्ञ डा. नवराज केसीको ‘शून्यको मूल्य’ लाई दिइयो । त्यसले पनि लेखक सिनालको परिवारले जस्तै कर्णालीका आमजनले उपचार गराउने क्रममा भोग्नुपरेका दुःख र सङ्घर्ष समेटेको छ । महिलाको स्वास्थ्यमा लगानी गर्न आग्रह गर्दै यसले पनि नीतिनिर्मातालाई समग्र स्वास्थ्य प्रणालीकै समीक्षाका लागि घच्घच्याउन खोजेको छ । लेखकले आफू दलित जाति भएकै कारण काठमाण्डूमा बस्दा भोगेका दुव्र्यवहार पनि नलुकाई प्रस्तुत गर्नुभएको छ ।
वर्णविन्यास र वाक्य रचना प्रायः शुद्ध नै छन् । लेखकको नाम कृतिको आवरणमा धिरेन्द्र र भित्री पृष्ठमा भने धीरेन्द्र र कतै अन्यौल, चेकजाँच, मुर्ख, भएँछु जस्ता शब्दले पाठकलाई बिझाउँछ भने कतै पुनरुक्तिका दोष पनि छन् । समाजवाद लागु गर्नका लागि नागरिकलाई दिनुपर्ने अत्यावश्यक स्वास्थ्य सेवा पनि अत्यावश्यक क्षेत्र भएकाले मुलुकको समग्र स्वास्थ्य प्रणालीको पुनरवलोकन गर्न कर्मचारीतन्त्र र स्वास्थ्य क्षेत्रमा चासो राख्नेहरूले प्रस्तुत कृति पढ्नैपर्छ भन्ने लाग्छ । श्याम रिमाल/रासस