Mon. Jul 1st, 2024

अछामका उत्कृष्ट किसान पुरस्कृत   

अछाम, २०८१ असार १५ गते शनिबार ।  यहाँ जिल्लास्तरका उत्कृष्ट कृषकलाई सम्मान तथा पुरस्कृत गरिएको छ । २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा जिल्लाका उत्कृष्ट तीन कृषकलाई सम्मानसहित पुरस्कृत गरिएको हो ।

तरकारी खेतीतर्फ रामारोशन गाउँपालिका-४ का किसान भरतबहादुर विष्ट, फलफूल खेतीतर्फ मेल्लेख गाउँपालिका-६ का वीरबहादुर बोहरा र मसला बाली खेतीतर्फ तुर्माखाद गाउँपालिका-१ का नन्दराम बुढालाई सम्मान गरिएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख जसिराम सहानिले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिकृषक रु २० हजारका दरले पुरस्कृत गरिएको हो ।

उत्पादित कृषि वस्तुले बजार नपाउँदा किसानमा ऊर्जा हराउँदै गएको कृषकका बुढाले बताउनुभयो । गत वर्ष करिब ४० क्वीन्टल किवी उत्पादन भएको भन्दै उचित मूल्य र बजार नपाउँदा ठूलो नोक्सान भएको उहाँले जानकारी दिनुभयो ।

कृषकले उत्पादन गरेका तरकारी, फलफूललगायत वस्तु बिग्रन नदिन जिल्लाका प्रत्येक स्थानीय तहमा ‘कोल्ड स्टोर’ निर्माण गर्नुपर्ने उहाँहरुको माग छ । विगत १२ वर्षदेखि तरकारी खेती गर्दै आएको सुनाउँदै अहिले पुरस्कृत हुँदा उत्साहित भएको कृषक विष्टले बताउनुभयो । ठूलो क्षेत्रफलमा २९ वटा प्लास्टिक टनेलमा तरकारी खेती गरिरहेको उहाँले भन्दै यसरी कृषक सम्मानित हुँदा प्रोत्साहन थपिएको उहाँको भनाइ छ ।

पुरस्कार प्रदान गर्दै जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर कुँवरले कृषकको समस्या समाधानका लागि पहल गर्न आफू सधैँ तत्पर रहेको बताउनुभयो । उहाँले कृषकको मिहिनेत र परिश्रमले देशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन सकिने भन्दै किसानलाई प्रोत्साहन गरेकामा ज्ञान केन्द्रलाई धन्यवाद दिनुभयो ।

व्यावसायिक कृषि पेसालाई सम्मानित बनाउन र कृषकको मनोभावना उच्च राख्न यस्ता रचनात्मक कार्य स्थानीय तहले पनि गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताउनुभयो । कृषि पेसालाई जोगाइ राख्न, कृषकलाई आत्मनिरर्भर बनाउन तथा युवालाई कृषि क्षेत्रमा आकर्षित गराउन कृषिसम्बन्धी दिगो नीति तथा योजना बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । रासस

Facebook Comments