Sat. Sep 28th, 2024

काठमाण्डूमा चिनियाँ उच्च शैक्षिक प्रदर्शनीको आयोजना

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, नेपालका लागि चिनियाँ राजदूत छन् सोङ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. दीपक काफ्ले मङ्गलबार काठमाण्डूमा चिनियाँ उच्च शैक्षिक प्रदर्शनीको उद्धघाटन गर्नुहुँदै । तस्विर: रमेश हतुवाली

रमेश हतुवाली/काठमाण्डू, २०८१ असार ४ गते मंगलबार । काठमाण्डूमा चिनियाँ उच्च शैक्षिक प्रदर्शनीको आयोजना गरिएको छ । चीनको उच्च तहको शैक्षिक अवस्थाबारे नेपाली विद्यार्थी र अभिभावकलाई जानकारी गराउने उद्देश्यले चीनको छात्रवृति परिषद् र नेपालस्थित चिनियाँ राजदूतावाससँगको सहकार्यमा नेपाल-चीन साँस्कृतिक तथा शैक्षिक परिषद्ले सो प्रदर्शनी आयोजना गरेको हो ।

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, नेपालका लागि चिनियाँ राजदूत छन् सोङलगायत नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्को आयोजनामा मङ्गलबार काठमाण्डूमा चिनियाँ उच्च शैक्षिक प्रदर्शनीको अवलोकन गर्दै । तस्बिर : रत्न श्रेष्ठ/रासस

बौद्धस्थित होटल हायात रिजेन्सीमा आयोजना गरिएको सो प्रदर्शनी उद्धघाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र चीनका विभिन्न विश्व विद्यालयहरुबीच लामो समयदेखि सहयोग र सहकार्य हुँदै आएको बताउनुभयो ।

नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्रमन्त्री

मन्त्री श्रेष्ठले चीनमा वर्षेनी उच्च शिक्षा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुको संख्या बढिरहेको जानकारी दिनुहुँदै नेपाली विद्यार्थीहरु र चिनियाँ विद्यार्थीहरुबीच एकअर्का देशका भैरहेको अध्ययन र चीनका प्राध्यापकहरुले समय समयमा नेपालमा गर्नुहुने भ्रमणले दुई देशबीचको जनस्तरको सम्बन्ध अझ प्रगाढ र फराकिलो हुँदै गएको बताउनु भयो ।

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, नेपालका लागि चिनियाँ राजदूत छन् सोङ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. दीपक काफ्ले मङ्गलबार काठमाण्डूमा चिनियाँ उच्च शैक्षिक प्रदर्शनीको उद्धघाटन गर्नुहुँदै । तस्विर: रत्न श्रेष्ठ

नेपालका लागि चिनियाँ राजदूत छन् सोङले चीनमा झण्डै २,५०० नेपाली विद्यार्थीहरु अध्ययनरत रहेको जानकारी दिनुहुँदै नेपालमा अध्ययन, अध्यापन गर्न आउने चिनियाँ विज्ञ, विश्वविद्यालयका विद्यार्थी र अन्तर्राष्ट्रिय चिनियाँ शिक्षा स्वयंसेवकको संख्या निरन्तर बढिरहेको बताउनुभयो । दुई देशबीचको सांस्कृतिक आदान–प्रदान र शैक्षिक सहयोग चीन–नेपालबिचको सम्बन्धको महत्वपूर्ण आधारशिला बनेको राजदूत छन् सोङको भनाई छ ।

छन् सोङ, नेपालका लागि चिनियाँ राजदूत, तस्विर: रमेश हतुवाली

उद्धघाटन समारोहमा बोल्नुहुँदै चीनको छात्रवृति परिषद्का उपमहासचिव चाङ च्यूनले सन् १९५५ अगस्ट १ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल–चीनबीच परम्परागत मित्रता र मैत्रीपूर्ण सहयोगको विकास हुँदै आएको बताउनु भयो । उपमहासचिव चाङले चीन र नेपाल असल छिमेकी हुनुका साथै दुवै मुलुकबीच पारस्परिक रूपमा लाभदायक र विजयी विकास हासिल गर्दै आएको र शिक्षा क्षेत्रमा घनिष्ठ सहकार्यका साथै विश्वविद्यालयहरू बीचको आदानप्रदान दिनप्रतिदिन बढिरहेको बताउनु भयो ।

चाङ च्यून, उपमहासचिव, चीन छात्रवृति परिषद्, तस्विर: रमेश: हतुवाली

नेपाल-चीन साँस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डा. हरिश्चन्द्र शाहले प्रदर्शनीको माध्यमबाट चीनका विभिन्न बिश्व विद्यालयहरूका बारेमा राम्ररी बुझ्ने अवसर मिल्ने बताउनु भयो । यस प्रदर्शनीले नेपाली विद्यार्थीलाई चीनको शिक्षा र सही बिश्व विद्यालय छनोट मा ठुलो सहयोग पुग्ने बताउनु भयो ।

डा. हरिश्चन्द्र साह, अध्यक्ष, नेपाल–चीन साँस्कृतिक तथा शैक्षिक परिषद्, तस्विर: रमेश हतुवाली

यसैबीच प्रदर्शनीमा सहभागी हुन देशका विभिन्न भागबाट आउनु भएका विभिन्न पेशा, व्यवसायमा सम्लग्न महानुभाव र विभिन्न विद्यालयका विद्यार्थीहरुले चिनियाँ शैक्षिक प्रदर्शनी नेपाली विद्यार्थीहरुका लागि महत्वपूर्ण रहेको रे टेलिभिजनसँग कुराकानी गर्दै बताउनु भएको छ । प्रदर्शनीमा सहभागी महानुभावहरुले उच्च शिक्षा अध्ययनका लागि सही र तथ्य जानकारी लिन चीनका विश्व विद्यालयसम्म पुग्दा लाग्ने खर्च र समयको प्रर्दशनीले वचत गरेको जानकारी दिनुहुँदै समय समयमा यस्ता प्रदर्शनीहरुको आयोजना गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सो प्रदर्शनीमा चीनका विभिन्न ३१ वटा विश्वविद्यालयका स्टलहरु रहेका छन् । एकदिने सो प्रदर्शनीमा निशूल्क प्रवेशको व्यवस्था मिलाईएको छ ।

Facebook Comments