Sat. Jul 27th, 2024

चिनियाँ भाषा प्रशिक्षण प्रारम्भ, मेहनत गर्न प्रशिक्षार्थीलाई मन्त्री तामाङको सुझाव   

काठमाण्डू, २०८१ जेठ २९ गते मंगलबार । देशका पर्यटन व्यवसायीका लागि सञ्चालित छैटौँ चरणको चिनियाँ भाषा प्रशिक्षण आजदेखि यहाँ सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङले संयुक्त रूपमा प्रशिक्षणको उद्घाटन गर्नुभयो ।

नेपाल पर्यटन बोर्ड र नेपाल-चीन सांस्कृतिक तथा शैक्षिक परिषद्सँगको सहकार्यमा काठमाण्डूस्थित चिनियाँ राजदूतावासले सञ्चालन गरेको यो प्रशिक्षण आगामी छ महिनासम्म जारी रहने छ ।

त्यस अवसरमा मन्त्री तामाङले भाषाले सम्बन्ध विस्तार गर्न मद्दत पुग्ने र समृद्ध राष्ट्र चीन नेपालको पर्यटनको ठूलो स्रोत भएको बताउँदै चिनियाँ भाषा अप्ठेरो भए पनि नेपालको पर्यटन क्षेत्रको जनशक्तिको लागि अपरिहार्य हुँदै गएको उल्लेख गर्नुभयो । उहाँले चिनियाँँ र भारतीय पर्यटककोे आर्कषण हाम्रो मुलुक भएकाले धेरैभन्दा धेरै पर्यटक छिमेकी देशहरूबाट भित्र्याउन हामीले उनीहरूलाई आकर्षक ‘प्याकेज’ उपलव्ध गराउन जरुरी छ भन्नुभयो ।

मन्त्री तामाङले भाषाका दृष्टिले भारतीयसँग व्यवहार गर्न नेपालीलाई सहज भए पनि चिनियाँ भाषा अलि कठिन भएकाले मेहनत गर्न प्रशिक्षार्थीलाई सुझाव दिनुभयो ।

राजदूत छन् सोङले नेपालीहरुले चिनियाँ भाषा तुलनात्मकरूपमा चाँडै सिक्ने र प्रष्ट रुपमा बोल्ने गरेको अनुभव सुनाउनुभयो । चिनियाँ भाषा पुरानो इतिहास मात्र नभएर वैज्ञानिक विकासको आधार भएको उहाँले बताउनुभयो । धेरै व्यापारी र लगानीकर्ता नेपाल आउने तयारीमा रहेका जानकारी दिँदै उहाँले चिनियाँ भाषा जानेका जनशक्ति उनीहरुको पहिलो आवश्यकता हुन् भन्नुभयो । साथै उहाँले दुई देशको आत्मीयता विस्तार गर्न पनि भाषा सिक्न आवश्यक भएको बताउनुभयो । चिनियाँ नागरिकलाई पनि नेपाली भाषा सिकेर नेपालको कला संस्कृतिसँग जोडिन चिनियाँ राजदूतले आग्रह गर्नुभयो ।

बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिकमत सिंह ऐरले पर्यटन आतिथ्यतामा भाषा शक्तिशाली अस्त्र रहेको उल्लेख गर्दै विश्वको दोस्रो ठूलो भाषाको तालीमले नेपालमा चिनियाँ पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले राजदूतमार्फत चिनियाँ सरकारलाई अझ धेरै नाका खुला गर्न अनुरोध पनि गर्नुभयो ।

परिषद्का अध्यक्ष डा. हरिशचन्द्र शाहले यसअघि तालिम पाइसकेका दुई सयजना प्रशिक्षार्थी देशका विभिन्न पर्यटन व्यवसायमा सक्रिय रहेका जानकारी दिँदै राजधानी बाहिर पनि चिनियाँ भाषा कक्षा सञ्चालनको माग रहेको बताउनुभयो ।

Facebook Comments