Sat. Jul 27th, 2024

पर्यटन व्यवसायीहरूका लागि चिनियाँ भाषा प्रशिक्षण सुरु

रमेश हुतवाली/काठमाण्डू, २०८१ जेठ २९ गते मंगलबार । नेपाली पर्यटन व्यवसायीहरूका लागि छैटौं चरणको चिनियाँ भाषा प्रशिक्षण कक्षा सुरु भएको छ ।

नेपाल पर्यटन बोर्ड काठमाण्डूमा एक भव्य समारोहबीच संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङले आज सो कक्षाको सुभारम्भ गर्नुभएको हो ।

कक्षा शुभारम्भ समारोहलाई सम्बोधन गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङले चीनले गरेको आर्थिक विकास विश्वकै लागि नमूना भएको बताउनुभयो । नेपालको पर्यटन क्षेत्रको विकासका लागि चीन वलियो साझेदार र महत्वपूर्ण बजार पनि भएकोले चिनियाँ पर्यटकहरुलाई नेपाल घुम्न सहज बनाउन चिनियाँ भाषा जानेका लाखौं पथप्रदर्शकहरुको आवश्यकता हुने मन्त्री तामाङको भनाइ छ । दुवै देशका नागरिकहरुले एकअर्का देशको भाषा सिक्नुपर्नेमा जोड दिनुहुँदै मन्त्री तामाङले चिनियाँ जनताले नेपाली भाषा सिक्न चाहेमा नेपाल सरकारले चीनमा पनि भाषा कक्षा सञ्चालन गर्ने जानकारी दिनुभयो ।

हितबहादुर तामाङ, मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन

कार्यक्रममा बोल्नुहुँदै नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेपालीहरुले चिनियाँ भाषा तुलनात्मक रूपमा चाडै सिक्ने र लवज प्रष्ट रुपमा बोल्ने गरेको अनुभव सुनाउनु भयो । पछिल्ला दिनहरुमा चिनियाँ कम्पनीहरु नेपालमा लगानी गर्न उत्सुक भएको जानकारी दिनुहुँदै राजदूत छन् सोङले चिनियाँ भाषा सिक्नेहरुका लागि भविष्य उज्वल रहेको पनि बताउनुभयो ।

.छन् सोङ, नेपालका लागि चिनियाँ राजदूत

नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह ऐरले नेपालको पर्यटन क्षेत्र र दुई देशबीचको जनस्तरको सम्बन्ध विकासका लागि चिनियाँ भाषा कक्षाको महत्वपूर्ण योगदान रहने बताउनु भयो । पोखरा र भैरहवालाई चीनका विभन्न शहरहरुसँग हवाईमार्ग मार्फत जोड्न पनि आवश्यक सहयोगका लागि ऐरले चिनियाँ राजदूतलाई आग्रह गर्र्नुभयो ।

हिक्मत सिंह ऐर, निमित्त प्रमुख कार्यकारी अधिकृत, नेपाल पर्यटन बोर्ड

नेपाल-चीन साँस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डाक्टर हरिश्चन्द्र शाहले सन् २०१६ देखि सुरु भएको चिनियाँ भाषा कक्षामा अहिलेसम्म २ सयजना विद्यार्थीहरुले सफलतापूर्वक अध्ययन गरेका जानकारी दिनुहुँदै काठमाण्डू उपत्यका बाहिर पनि भाषा कक्षा सञ्चालनको लागि ठूलो माग रहेको बताउनुभयो ।

डाक्टर हरिश्चन्द्र शाह, अध्यक्ष, नेपाल-चीन साँस्कृतिक तथा शैक्षिक परिषद्

नेपाल पर्यटन बोर्ड र नेपाल–चीन साँस्कृतिक तथा शैक्षिक परिषदसँगको सहकार्यमा काठमाण्डूस्थित चिनियाँ राजदूतावासले सञ्चालन गर्ने सो कक्षा ६ महिनासम्म चल्नेछ ।

भाषा कक्षामा सहभागी हुने विद्यार्थीहरुले ६ महिनाभित्र चिनियाँ भाषा, संस्कृति र चिनियाँ खानाबारे पनि राम्रो जानकारी हासिल गर्न सक्ने आयोजकहरुले बताएका छन् । सो भाषा कक्षा नेपाल पर्यटन बोर्डमा आईतबारदेखि शुक्रबारसम्म साँझ ४ बजेदेखि ६ बजेसम्म सञ्चालन हुनेछ ।

Facebook Comments