Mon. Dec 23rd, 2024

“आधुनिकीकरणको चिनियाँ मार्गको अभ्यास” सार्वजनिक

फोटो : रमेश हुतुवाली

रमेश हतुवाली/काठमाण्डू, २०८१ जेठ २९ गते मंगलबार । नेपाली आँखाबाट ‘आधुनिकीकरणको चिनियाँ मार्गको अभ्यास’ नामक पुस्तक सार्वजनिक गरिएको छ ।

काठमाण्डू लाजिम्पाटस्थित होटल रेडिसनमा एक भव्य समारोहवीच सो पुस्तक सार्वजनिक गरिएको हो । वरिष्ठ लेखक तथा कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठ, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, वरिष्ठ पत्रकार जीवराम भण्डारी, फ्रेण्ड्स अन द क्लाउड प्लेटफर्म अफ इन्फ्लुएन्सर नेपालका अध्यक्ष शोभित उप्रेती, अन्तर्राष्ट्रिय च्याम्बर अफ कमर्स, नेपालका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल टेलिभिजनका महाप्रवन्धक फूलमान वल, प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य तथा पत्रकार ठाकुर बेलवासे लगायतले संयुक्त रुपमा सोमबार पुस्तक सार्वजनिक गर्नुभएको हो ।

फोटो : रमेश हुतुवाली

थ्रि एस मिडियाद्वारा प्रकाशित “थ्रु नेपाली आइजः द प्राक्टिस अफ चाइनिज पाथ टु मोडनाइजेशन” नामक सो पुस्तकमा चिनियाँ कम्युनिष्ट पार्टी, अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा नेपालका कला, संस्कृति, इतिहास र पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय व्यक्तिहरुले गरेको ११ दिन लामो चीन भ्रमण सम्पन्न गर्दा चीनबाट बटुलेको अनुभवलाई समेटिएको छ ।

आधुनिकीकरणको यात्रामा प्रवेश गर्दै गरेको चीनको सुदूरपश्चिम-दक्षिणको तिब्बत स्वायत्त प्रदेश हुँदै सुदूरपूर्व-दक्षिणको तिब्र गतिको आधुनिकीकरणको प्रक्रिया सम्पन्न भएको चच्याङ प्रान्तको यात्रा र वर्तमान आधुनिकीकरणको अनुभव पुस्तकमा उल्लेख गरिएको छ ।

फोटो : रमेश हुतुवाली

कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य ठाकुर बेलवासेले चिनियाँ नागरिक आधुनिक विकास र अनुसन्धानमा उत्कृष्ट रुपमा लागेको अनुभव गरेको बताउनु भयो । उहाँले छिमेकी देशले विश्व मानव विकास र कल्याणका लागि गरेका कामहरु देखेर आफू भावुक बनेको बताउनु भयो । बेलवासेले विकासका लागि सरकारको चेत नै पहिलो शर्त रहेको अनुभव चीन भ्रमणबाट लिएको बताउनु भयो ।

कार्यक्रममा बोल्दै योहो टेलिभिजनका समाचार प्रमुख तथा कार्यक्रम सञ्चालक जीवराम भण्डारीले आफूले पढेको चीनलाइै आँखैले हेर्दा नयाँ अनुभव गर्न पाएको बताउनु भयो । उहाँले चिनियाँहरु नेपालीहरुको बारेमा धेरै नै सकारात्मक रहेको र नेपाली समाजलाई धेरै चासोका साथ लिने गरेको पाएको बताउनु भयो ।

नेपाल टेलिभिजनका महाप्रवन्धक फूलमान बल तामाङले आधुनीकिकरणको चिनियाँ मोडेलबारे नेपालले पनि धेरै कुरा सिक्न आवश्यक रहेको बताउनु भयो । उहाँले चीनको सय वर्षे इतिहास गौरवशाली रहेको बताउँदै शास्त्रीय समाजवादी आर्थिक मोडेल मात्रै अपनाएको भए यो समृद्धि चीनका लागि सम्भव नरहेको बताउनु भयो ।

कार्यक्रममा बोल्नुहुँदै अन्तर्राष्ट्रिय च्याम्बर अफ कमर्स, नेपालका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल र चीनबीचको सम्बन्ध सांस्कृतिक मात्र नभइ सामाजिक, आर्थिक र व्यवसायिक रहेको बताउनु भयो । उहाँले विकासको क्षेत्रमा चीनबाट नेपालले धेरै कुरा सिक्न आवश्यक रहेको तर्क गर्नुभयो । अध्यक्ष श्रेष्ठले चीन सामाजिक, आर्थिक, प्राविधिक क्षेत्रमा उच्च स्थानमा रहेको भन्दै हरेक क्षेत्रमा विकसित रहेको बताउनु भयो ।

चीनको विकास मोडेलबाट प्रभावित भएर नेपाल लगायतका विश्वका धेरै देशहरुले विकासको खाका कोरेको श्रेष्ठको भनाइ छ । उहाँले नेपाललाई चीनले विकासका साथै प्राविधिक र सांस्कृतिक क्षेत्रमा पनि धेरै सहयोग गरिरहेको बताउनु भयो ।

कार्यक्रममा बोल्नुहुँदै वरिष्ठ लेखक तथा कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले चीनबाट नेपालले धेरै कुराहरुमा सहयोग प्राप्त गर्नसक्ने बताउनु भयो । उहाँले नेपालको लागि चीनको विकास धेरै नै आवश्यक रहेको बताउनु भयो । चीनसँग नेपालले सांस्कृतिक, सामाजिक, आर्थिक, प्राविधिक र आधुनिकीकरणमा धेरै सहयोग माग्न सक्ने श्रेष्ठको धारणा छ । चीनको आधुनिकीकरण र विकासले विश्वकै अर्थतन्त्रलाई परिवर्तन गरिदिएको कुटनीतिज्ञ श्रेष्ठले उल्लेख गर्नुभयो ।

अग्रज कलाकार मदनदास श्रेष्ठले नेपाल र चीनबीच परापूर्वकालदेखि नै आपसी सम्बन्ध रहेको र चीनले नेपालको शान्ति, विकास र समुन्नतिका लागि उल्लेखनिय योगदान गरेको बताउनु भयो ।

कलाकार श्रेष्ठले पुस्तकमा चीनका विभिन्न शहरमा भ्रमण गरी नेपालीहरुले लिएको अनुभवलाई उतारिएको जानकारी दिनुभयो । भ्रमणमा पुगेका १८ जना कलाकार, पत्रकार, राजनीतिज्ञसहितले भ्रमणका क्रममा चीनको विकासलाई नजिकबाट नियाल्ने अनुभवका साथै चीनको समाजलाई बुझ्न् अवसर पाएको बताए ।

Facebook Comments