Sun. Sep 8th, 2024

कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न   

मोरङ, २०८१ जेठ २८ गते सोमबार । कोशी प्रदेशस्तरीय दुई दिने सुरक्षा गोष्ठी आज सम्पन्न भएको छ । गृह मन्त्रालय र कोशी प्रदेश आन्तरिक ममिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रुपमा विराटनगरमा आयोजित गोष्ठीमा शान्ति सुरक्षा, सामाजिक सद्भाव र सूचना व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित बनाउनेलगायत विषयमा छलफल भएको थियो ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले गोष्ठीका निष्कर्षलाई कार्यान्वयन, प्रभावकारी सूचना व्यवस्थापन, गैरकानुनी कार्य र सामाजिक सद्भाव विथोल्ने गतिविधिलाई समयमै कानुनको दायरामा ल्याउन सबै सुरक्षा निकाय र सरोकार भएकाहरू थप क्रियाशील हुने निर्णय गरिएको सञ्चारकर्मीहरुलाई जानकारी दिनुभयो ।

गोष्ठीले राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन र परिचयपत्र वितरणलाई थप प्रभावकारी बनाउने, निजी हतियारको प्रयोग व्यवस्थित गर्ने, सुरक्षा व्यवस्था र सेवा प्रवाहको प्रभावकारिता अभिवृद्धिमा आधुनिक प्रविधिको प्रयोग बढाउनुपर्ने जोड दिएको पनि उहाँले बताउनुभयो । यसैगरी गोष्ठीले अपराध र लागुऔषध नियन्त्रण तथा विपद् व्यवस्थापनका काम थप प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकालेको थियो ।

गोष्ठी समापनका अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाहका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्न गोष्ठीबाट उत्साह थपिने विश्वास व्यक्त गर्नुभयो । उहाँले नागरिकले परिवर्तनको अनुभूति गर्ने किसिमका काम गर्नुपर्ने र यस्ता काममा खटिने सुरक्षा निकायले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । मुख्यमन्त्री कार्कीले भन्नुुभयो, “जनताको आशा र भरोसा जगाउन सबैले आआफ्नो ठाउँबाट इमान्दार प्रयत्न गर्नु पर्छ ।” शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि प्रदेश सरकारले प्रहरी परिचालन गर्ने अधिकार दिइनुपर्ने उहाँको भनाइ छ ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी, गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक, नेपाली सेनाका अधिकृत, १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला तहका प्रहरी प्रमुख, गृह मन्त्रालयका अधिकृतहरु, प्रदेशको आन्तरिक मामिला मन्त्रालयका अधिकृतहरुको गोष्ठीमा सहभागिता रहेको थियो ।रासस

Facebook Comments