पूर्वप्रधानमन्त्री खानकी पत्नी बुशरा बीबीद्वारा उच्च अदालतमा अपिल
इस्लामावाद, पाकिस्तान, २०८१ जेठ २६ गते शनिबार । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी पत्नी बुशरा बीबीले इद्दत मुद्दामा आफ्नो सजाय स्थगन गर्न माग गर्दै इस्लामाबाद उच्च अदालतमा निवेदन दिनुभएको छ ।
हाल जेल सजाय विताइरहेकी बुशरा बीबीले आफ्ना वकिल सलमान सफदरमार्फत यो याचिका दर्ता गराउनुभएको हो । जिओ न्यूजको रिपोर्टअनुसार ‘लामो समयसम्म थुनामा राखिएको’ मा आलोचना गर्दै याचिकामा भनिएको छ, “उहाँको सजायविरुद्ध परेको अपिलको सुनुवाइ विचाराधीन छ । न्यायको हितमा निवेदक (बुशरा) को सजाय निलम्बनको निर्णय यथाशीघ्र गर्नु अत्यावश्यक छ ।”
बुशरा बीबीका पूर्वपति खवर मेनकाले उनीहरूको विवाहको विरोधमा अदालतमा निवेदन दिएपछि भएको सुनुवाईको फैसला सुनाउँदै गत फेब्रुअरीमा इमरान खान र बुशरा बीबीलाई सात वर्षको जेल सजाय सुनाइएको थियो ।
जियो न्यूजका अनुसार ५१ पृष्ठ लामो फैसलामा न्यायाधीशले उनीहरूको विवाहले बेइमानी झल्काएको र प्रत्येकलाई पाँच लाख पाकिस्तानी रुपैयाँ जरिवाना पनि तोकेकोे छ । अदालतको फैसलापछि खान दम्पतीले जिल्ला अदालत तथा आपराधिक मुद्दाहरू हेर्ने विशेष अदालतमा आफ्नो सजायविरुद्ध याचिका दायर गरेका थिए । तर, मेनकाले सुनुवाईका लागि तोकिएका न्यायाधीश शाहरुख आरजुमान्डमाथि अविश्वास प्रकट गरेपछि यो मुद्दा अतिरिक्त जिल्ला अदालत र पुनरावेदन अदालतका न्यायाधीश मोहम्मद अफजल माजुकालाई हस्तान्तरण गरिएको थियो ।
पाकिस्तान तेहरीक-ए-इन्साफले यस विकासको आलोचना गर्दै यसलाई ‘न्यायको प्रावधानमा जानाजानी विलम्ब’ गरिएको बताएको छ ।
पीटीआईको विशेष समितिले पूर्व प्रधानमन्त्री खान र उहाँकी पत्नी बुशरा बीबी तत्काल जेलबाट रिहा गर्न योग्य रहेको बताएको छ । एएफपी