Fri. Oct 18th, 2024

इरानमा राष्ट्रपतिको निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने सुधारवादी समूहको शर्त   

तेहरान,  २०८१ जेठ २६ गते शनिबार । इरानमा सुधारवादी समूहको मुख्य गठबन्धनले कम्तीमा आफ्नो एक उम्मेदवारलाई प्रतिस्पर्धा गर्न ‘गार्जियन काउन्सिल’बाट स्वीकृति दिइएमा मात्र यस महिनाको राष्ट्रपतीय निर्वाचनमा आफूहरूले भाग लिने बताएको छ ।

सुधारवादी पत्रिका इतेमादलेसुधारवादी मोर्चाका प्रवक्ता जवाद इमामलाई उद्धृत गर्दै लेखेको छ, “यदि सुधारवादीहरूले आफ्नो उम्मेदवार छ भने चुनावमा भाग लिन्छन्, अन्यथा, सहभागिताको अपेक्षा गर्नु हुँदैन ।”

आगामी जुन २८ मा हुन लागेको निर्वाचनले मे १९ मा हेलिकप्टर दुर्घटनामा मृत्यु भएका अति परम्परावादी राष्ट्रपति इब्राहिम राइसीको स्थान लिनेछ ।

राष्ट्रपतिको उम्मेदवार बन्नका लागि ८० जना आकाङ्क्षीले उम्मेदवारी दिएका छन् तर सार्वजनिक पदका लागि सबै उम्मेदवारलाई उम्मेदवार हुनका लागि परम्परावादी समूहको प्रभुत्व रहेको इरानको अनिर्वाचित निकाय ‘गार्जियन काउन्सिल’ले अनुमोदन गर्नुपर्छ । यसका लागि उनीहरूले बिहीबारसम्म पर्खनुपर्ने छ ।

मार्च १ मा हुने विधानसभा चुनावअघि आफ्ना उम्मेदवारहरूलाई व्यापक रूपमा अयोग्य घोषित गरेपछि ‘अर्थहीन, अप्रतिस्पर्धी र अप्रभावकारी चुनावमा’ भाग नलिने सुधारवदी समूहको गठबन्धनले जनाएको छ ।

“गार्जियन काउन्सिलले सुधारवादी आन्दोलनको भयले हाम्रो उम्मेदवार मनोनयन गर्न चाहँदैन,” सुधारवादी मोर्चाका नेता अजार मन्सुरीलाई उद्धृत गर्दै स्थानीय समाचार संस्था ( फार्स) ले जनाएको छ । निर्वाचनमा सहभागी हुनका लागि ‘हाम्रा आफ्नै उम्मेदवार हुनुपर्छ ।”

सुधारवादीहरूलेसामाजिक स्वतन्त्रता र नागरिक समाजको स्थापनाका लागि आह्वान गरेका छन् ।

सन् २०२१ को राष्ट्रपतीय चुनावका लागि उम्मेदवारी अमान्य भएका पूर्व प्रथम उपराष्ट्रपति इशाघ जहाँगीरी, पूर्वमन्त्री अब्बास अखौँदी र मसूद पेजेशकियानले आफ्नो उम्मेदवारको सूची सार्वजनिक गरेका छन् ।

सन् २०२१ को राष्ट्रपतीय चुनावमा १२ सदस्यीय गार्जियन काउन्सिलले धेरै सुधारवादी उम्मेदवारलाई अयोग्य घोषणा गरेको थियो । यसले अति परम्परावादी खेमाका उम्मेदवार इब्राहिम राइसीको सहज जीत भएको थियो । एएफपी

Facebook Comments