Tue. Sep 17th, 2024

ठूला आयोजनाको जिम्मा प्रदेश सरकारले लिन्छः मुख्यमन्त्री जम्कट्टेल   

धुलिखेल,२०८१ जेठ २५ गते शुक्रबार । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साना योजना पालिकाले कार्यान्वयन गर्ने र ठूला आयोजना प्रदेश सरकारले जिम्मा लिने बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकास्थित तालढुङ्गामा आयोजना गरिएको जनमुक्ति मार्ग-तालढुङ्गा-सिक्रेदोभान-झुरझुरे सडकखण्ड आयोजना तथा खानीखोला गाउँपालिकाको प्रशासनिक भवन शिलान्यास र पालिकाको व्यवस्थापनमा आजबाट सञ्चालनमा ल्याएको स्थानीय उत्पादन खरिद बिक्री केन्द्रको उद्घाटनका अवसरमा उहाँले प्रदेशको विकासमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

मुख्यमन्त्री जम्कट्टेलले विगतमा छुटेका तालढुङ्गा करिडोर र पालिकास्तरीय आधारभूत अस्पतालका लागि आगामी आर्थिक वर्षको सम्बोधन गर्ने जानकारी दिनुभयो । डाँडापारिको तालढुङगालाई बनेपा र धुलिखेलसँग जोड्ने मुख्य सडक तालढुङगा-खोपासी सडकका लागि यसै वर्षबाट बजेट व्यवस्थापन गरी अगाडि बढाउने उहाँको भनाइ छ ।

“खोपासी-तालढुङगा सडकको नाम नै हराउन लागेकोमा अब यस वर्षबाट नै सुरु गर्नेछौँ”, उहाँले भन्नुभयो, “त्यसका लागि चिन्ता नलिनुहोस्, अब सङ्घीय सरकारले सुम्पेको सडक प्रदेश सरकारले गर्नेछ ।”

सङ्घीय सरकारले प्रदेश सरकारलाई सुम्पेको करिब तीन सयभन्दा बढी सडकको गुरुयोजना प्रदेश सरकारले बनाइसकेकाले अब ती सबै आयोजनाको काम निरन्तर अगाडि बढ्ने उहाँको भनाइ थियो ।

उहाँले परिवर्तनका लागि जनमुक्ति सेनाले ज्यानको बाजी लगाएर लडेर ल्याएको व्यवस्थालाई स्थापित गर्नका लागि हिजोको गौरवपूर्ण क्रान्ति र जनमुक्ति सेनासँग जोडिएको मार्गका रुपमा लिएर काम अगाडि बढाइरहेको उहाँले बताउनुभयो । बिपी राजमार्गदेखि महाभारत पहाड हुँदै मदनभण्डारी राजमार्ग जोड्ने सडकका रुपमा जनमुक्ति मार्ग निर्माण भएको मुख्यमन्त्री जम्कट्टेलले बताउनुभयो ।

सो क्रममा उहाँले पूर्वाधार विकासका सबै काम प्रदेश सरकारले जिम्मा लिने भएकाले अब स्थानीय सरकार कृषि उत्पादन र प्राविधिक शिक्षालाई अगाडि बढाउनका लागि योजना बनाउनतर्फ लाग्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिनिधिसभा सदस्य सूर्यमान दोङले डाँडापारिको विकासका लागि शिक्षा क्षेत्रबाट सुधार गर्दै भौतिक पूर्वाधारका काममा प्रदेश सरकार स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको बताउनुभयो । जनताको विकासप्रतिको चाहना पूरा गर्नका लागि सङ्घीय सरकार साथमा नै रहेको उल्लेख गर्दै उहाँले जनतालाई सुविधा प्रदान गर्न सबै एकजुट भएर लाग्न आग्रह गर्नुभयो ।

बागमती प्रदेश सरकारका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य तीर्थ लामाले विकासका काममा सबै राजनीतिक दल र नागरिक सबै एकजुट भएर काम गर्नका लागि एकबद्धता आवश्यक रहेको बताउनुभयो ।

महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले डाँडापारिका नागरिकले आफ्नै गाउँमा कालोपत्र सडक र सिंहदरबारको सुविधा घरआँगनमा नै प्राप्त गर्न सफल हुँदै गएको बताउनुभयो । काभ्रेपलाञ्चोकलाई सुगमका गन्तव्यका रुपमा देखिए पनि विकटमा रहेका डाँडापारिका भारत र खानीखोला गाउँपालिकाका नागरिकले सङ्घीयता आएपछि विकासको अनुभव गर्न पाएको बताउनुभयो ।

जनमुक्ति मार्गको निर्माण सुरु भएपछि अब प्रदेश राजधानी जोड्ने ४४ किलोमिटर सडक पक्की बन्ने काम भइरहेको उहाँले बताउनुभयो ।

खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले सो क्षेत्रका नागरिकलाई विकासको अनुभव हुने गरी प्रदेश सरकारल बजेट बिनियोजन गर्नुपर्नेमा जोड दिनुभयो । यहाँका नागरिकको दैनिक जीवनसँग जोड्ने आवश्यक उपभोग्य सामग्रीको व्यवस्थापनदेखि प्रशासनिक कामका लागि बनेपा धुलिखेल जोड्ने सडक सञ्जाल टुट्ने र हेटौँडा जोड्ने बाटो सिक्रेदोभानमा बागमती खोलाले छेक्ने भएपछि समसया झेल्नुपरेको बताउँदै अब जनमुक्तिमार्ग र खोपासी-तालढुङगा सडकखण्ड पक्की बनेपछि सहजता हुने अपेक्षा व्यक्त गर्नुभयो । रासस

Facebook Comments