Sat. Sep 21st, 2024

दक्षिण अफ्रिकामा बाढीमा परी कम्तीमा १८ जनाको मृत्यु   

जोहानेसबर्ग, २०८१ जेठ २२ गते मंगलबार । दक्षिण अफ्रिकाको पूर्वी तटमा मुसलधारे वर्षाका कारण आएको बाढीमा कम्तीमा १८ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले मङ्गलबार बताएका छन् ।

पूर्वी केप प्रान्तमा कम्तीमा सात जनाको मृत्यु भएको बाढीको केन्द्रविन्दु रहेको नेल्सन मन्डेला बे नगरपालिकाका प्रवक्ताले बताउनुभयो । साथै बन्दरगाह सहर डर्बन र त्यस वरपर कम्तीमा ११ जनाको मृत्यु भएको छिमेकी क्वाजुलु-नटालको प्रान्तीय सरकारले बताएको छ ।

नेल्सन मन्डेला खाडी विशेषगरी नगरपालिकाको बस्तीमा रहेका अस्थायी घरहरूबाट दुई हजारभन्दा बढी मानिसलाई बाहिर विस्थापन गरिएको छ । स्थानीय अधिकारीहरूले कपडा, खाद्यान्न र कम्मल दानका लागि अपिल गरेका छन् । प्रान्तीय अधिकारीहरूले क्वाजुलु-नटाल प्रान्तमा सतर्कताको अवस्था घोषणा गरेका छन् ।

“५५ जनालाई सामान्य चोट लागेको छ र उनीहरूको अस्पतालमा उपचार भइरहेको छ”, प्रान्तीय सरकारले विज्ञप्तिमा भनेको छ, “कम्तीमा एक सय २० जना विस्थापित भएका छन् र उनीहरूलाई अस्थायी आश्रयस्थलमा राखिएको छ ।”

डर्बन र यसको वरपरको क्षेत्र सन् २०२२ मा दक्षिण अफ्रिकाको इतिहासको सबैभन्दा भीषण बाढीको स्थल थियो । उक्त बाढीबाट पहिरो जाँदा चार सयभन्दा बढीको ज्यान गएको थियो ।

सोमबार राति प्रभावित दुवै प्रान्तमा उद्धार सेवा परिचालन गरिएको थियो । राष्ट्रिय मौसम विज्ञान संस्थानले दक्षिण अफ्रिका ‘कट अफ लो’ दबाब प्रणालीको चपेटामा परेको छ । यसले असिना, हिउँ र कडा हावा ल्याउन सक्छ ।

पूर्वी हिन्द महासागर तटमा भारी वर्षा भएको छ र मौसम विज्ञान सेवाहरूले मुलुकका नौ मध्ये चार प्रान्तमा मौसम सतर्कताहरू प्रकाशित गरेका छन् । एएफपी

Facebook Comments