Sat. Sep 21st, 2024

चाईना साउदनले चीनको क्वान चौंदेखि काठमाण्डूसम्म दैनिक दुईवटा उडान गर्ने

रमेश हतुवाली/काठमाण्डू, २०८१ जेठ १९ गते शनिबार । चीनको प्रतिष्ठित विमान कम्पनी चाईना साउदनले चीनको क्वान चौंदेखि काठमाण्डूसम्म दैनिक दुईवटा उडान गर्ने भएको छ ।

काठमाण्डूका लागि दैनिक एउटा मात्र उडान गर्दै आएको सो एयरलायन्सले आउदो साउन १ गते अर्थात जुलाई १६ तारिखदेखि नियमित रुपमा दुईवटा उडान गर्ने जनाएको छ । चाईना साउदनको काठमाण्डू कार्यालयका अनुसार साउन १६ गतेदेखि दिउसो ३ बजे र राती ११ः५५ बजे काठमाण्डूबाट क्वान चौसम्म उडान सञ्चालन हुनेछ । चीनको औद्योगिक नगरी क्वान चौ नेपाली व्यापारीहरुको प्रमुख गन्तब्यको रुपमा रहेको र सो शहरहुँदै चीन र विश्वका विभिन्न देशहरुमा उडान गर्न सहज हुँने भएकोले पनि सेवाग्राहीहरुको मागलाई मध्यनजर गर्दै चाईना साउदनले उडान विस्तार गरेको हो ।

आज एक समारोहबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्वान चौबाट दिवा उडानमार्फत काठमाण्डू अवतरण गरेको विमानमा सवार यात्रु र चालक दलका सदस्यहरुलाई स्वागत गर्नुभएको थियो । आजको नयाँ उडानमार्फत ७३ जना यात्रुहरु काठमाण्डू आएका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङले नेपाललाई उच्च प्रार्थमिकता दिँदै चाईना साउदनले दैनिक २ वटा उडान गर्ने निर्णय गरेकोमा चीन सरकार र चिनियाँ जनतालाई धन्यवाद ज्ञापन गर्नुभयो । चीन र भारतजस्ता विशाल छिमेकी मुलुकबाट धेरै पर्यटकहरु नेपाल आउन भन्ने नेपाली जनताको चाहना भएको बताउनुहुँदै मन्त्री तामाङले पर्यटकहरुको आगमन बढेसँगै नयाँ नयाँ रोजगारी सृजना हुने र आर्थिक लाभ लिन सकिने हुनाले पनि यस्ता उडानहरुको अझ ठूलो महत्व रहने बताउनु भयो ।

चाईना साउदनले साउन १ गतेदेखि नियमित रुपमा काठमाण्डूका लागि २ वटा उडान गर्ने भए पनि शनिबार र मंगलबार भने आजैदेखि काठमाण्डूका लागि दुईवटा उडान सुरु गरेको जनाएको छ ।

Facebook Comments