Tue. Sep 17th, 2024

गैरकानुनी ढङ्गले प्राकृतिक स्रोतको दोहन   

पर्वत,२०८१ जेठ १९ गते शनिबार । पर्वतको जलजला गाउँपालिका र कुश्मा नगरपालिकाको सिमानामा पर्ने दमुवा खोलामा गैरकानुनी ढङ्गले प्राकृतिक स्रोतको दोहन गरिएको छ । उक्त खोलाबाट निर्माणजन्य सामग्री चोरी निकासी गरिँदै आएको छ ।

खोलामै सडक बनाएर निर्माण सामग्री चोरी निकासी हुँदैआएको छ । प्राकृतिक स्रोत दोहनले जलजला गाउँपालिका-८ स्थित जनहित सामुदायिक वन क्षेत्रमा पहिरोको समस्या देखिएको छ । दमुवा खोलाबाट दैनिकरुपमा निर्माण सामग्री उत्खनन् गर्ने क्रम बढ्दै गएपछि त्यस वरपरको बस्ती नै खतरामा परेको छ ।

दोहनले वर्खायाममा बाढीपहिरोको जोखिम रहेको स्थानीयको गुनासोपछि अनुगमन गर्न त्यहाँ पुगेको जिल्लास्तरीय अनुगमन समितिको टोलीले उत्खनन्मा रोक लगाएको छ । समितिका प्रमुख विष्णुराम विकका अनुसार कतिपय व्यक्तिले व्यक्तिगत जग्गा चक्लाबन्दी गर्न निर्माण सामग्री निकासी गर्ने गरेको पाइएको छ ।

उहाँले भन्नुभयो, “जथाभावी ढुङ्गा र गिट्टी निकासी गर्ने गरेको पाइएको छ, सवारीसाधन प्रवेशमा रोक लगाएका छौँ ।”

अनुगमन टोलीले स्थानीय वन क्षेत्र र वन क्षेत्रभन्दा माथि बसोबास गर्ने बस्तीको जोखिमलाई ध्यानमा राख्दै सो खोलाबाट ढुङ्गा र गिट्टी निकाल्न रोक लगाएको हो । खोलामा सडक नै निर्माण गरेर ढुङ्गा र गिट्टी निकाल्ने गरेको पाइएको प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले बताउनुभयो । रासस

Facebook Comments