Fri. Nov 22nd, 2024

चिडिया तालसम्म पदमार्ग निर्माण     

गोदावरी (कैलाली), २०८१ जेठ १९ गते शनिबार । कैलालीको घोडाघोडी नगरपालिका-२ साँडेपानीस्थित जैविक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण चिडिया तालसम्म पदमार्ग निर्माण गरिएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशको पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइले चालु आर्थिक वर्षमा रु १५ लाखको लागतमा चार सय मिटर लामो पदमार्ग निर्माण गरेको हो । पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइका निमित्त प्रमुख डबलबहादुर बोहराका अनुसार उपभोक्ता समितिमार्फत उक्त पदमार्ग निर्माण गरिएको हो ।

पदमार्ग निर्माण भएसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई दृश्यावलोकन गर्न तथा वनभोजका लागि सहज हुने निमित्त प्रमुख बोहराले बताउनुभयो । “पर्यटकलाई आकर्षित गर्न पदमार्ग निर्माण गरिएको हो”, उहाँले भन्नुभयो । ताल क्षेत्रमा खानेपानी, उद्यानलगायत संरचना निर्माण गर्नुपर्ने उहाँको भनाइ छ । यसका लागि प्रदेश सरकारले योजना बनाइरहेको निमित्त प्रमुख बोहराले बताउनुभयो ।

पूर्व-पश्चिम राजमार्गदेखि करिब दुई सय ५० मिटर उत्तरमा रहेको सो ताल सामुदायिक वन क्षेत्रमा पर्छ । उक्त क्षेत्रमा साना र ठूला गरी अन्य १२ वटा ताल रहेका छन् । रमणीय ठाउँ भए पनि यसको प्रचारप्रसार हुन नसकेको स्थानीय एकेन्द्र शाही बताउनुहुन्छ ।

पदमार्ग बनेपछि ताल अवलोकन गर्न आउनेको सङ्ख्या बढेको छ । सीमसार क्षेत्र रहेकाले सो ताल क्षेत्रमा विभिन्न प्रजातिका चरा, कछुवा, माछा, अजिङ्गरलगायत पाइन्छन् । करिब ३० बिघा क्षेत्रफलमा सो ताल फैलिएको छ । विश्व रामसार क्षेत्र सूचीकृत घोडाघोडी ताल नजिकै रहेकाले उक्त ताललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके स्थानीयस्तरमा रोजगारी सृजना गर्न सकिने घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक रावतले बताउनुभयो ।

यसैगरी कैलालीको चुरे गाउँपालिका–६ स्थित चमेरो गुफासम्म समेत पदमार्ग निर्माण गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रु ६ लाखको लागतमा सो पदमार्ग निर्माण गरिएको चुरे गाउँपालिकाका रोजगार संयोजक हीरा विष्टले जानकारी दिनुभयो । रासस

Facebook Comments