Fri. Sep 20th, 2024

दुबईबाट फर्केर तरकारीखेती   

देउखुरी (दाङ), २०८१ जेठ १९ गते शनिबार । बारीभरि टमाटर, करेला र काँक्रा लटरम्म फलेका छन् । भर्खरै टिपेको तरकारी बजार लैजाने तयारीमा देखिन्छन् । यो दृश्य घोराही उपमहानगरपालिका-६ लखुवारका स्रष्टा आचार्यले गरेको व्यावसायिक तरकारी बारीको हो । उहाँले चार बिघा चार कट्ठा जमिन भाडामा लिएर तरकारीखेती गर्नुभएको छ । जग्गा भाडा मात्रै वार्षिक रु एक लाख २८ हजार तिर्नुहुन्छ ।

उहाँले काँक्रा, बोडी, टमाटर, खरबुजा र घिरौंलालगायत तरकारी लगाउनुभएको छ । “उत्पादित तरकारी वैशाखदेखि बिक्री सुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “अहिलेसम्म चार लाख आम्दानी भएको छ ।” व्यापारी घरमै आउने भएकाले बिक्रीका लागि बजार लैजानुपर्ने झन्झट नभएको उहाँले बताउनुभयो ।

वैदेशिक रोजगारीका क्रममा दुबईमा १३ वर्ष बिताउनुभएका स्रष्टाले फर्केपछि आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोचाइका साथ तरकारीखेतीमा लाग्नुभएको बताउनुभयो ।

दुबईमा ‘अप्रेसन कन्ट्रोलर’का रुपमा यातायातमा काम गरेको अनुभव उहाँसँग छ । “उता पनि कमाई राम्रै थियो तर यतै काम गर्ने सोचले स्वरोजगार बन्न व्यावसायिक तरकारी खेतीमा लागेको हुँ”, उहाँले भन्नुभयो ।

तरकारीखेतीमा अहिलेसम्म १५ लाख लगानी भइसकेको उहाँको भनाइ छ । दुईजनालाई फार्ममै बस्ने व्यवस्था गर्नुभएको छ । आवश्यकताअनुसार दैनिक छदेखि आठ जनालाई रोजगारी दिने गरेको उहाँले बताउनुभयो ।

स्थानीय सरकारले विदेशबाट फर्केर कृषिमा लाग्ने युवालाई सहयोग गर्ने सुनेको तर आफूले त्यो अवसर नपाएको उहाँले बताउनुभयो । सानो लगानीबाट आम्दानी गर्दै र त्यही आम्दानीलाई लगानीमा रुपान्तरण गरी बढाउँदै लैजाने उहाँको योजना छ । (रासस

Facebook Comments