Sun. Sep 22nd, 2024

इरानका पूर्वसभामुख लारिजानीद्वारा राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता   

तेहरान, २०८१ जेठ १८ गते शुक्रबार ।  इरानी संसदका पूर्वसभामुख अली लारिजानीले इब्राहीम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि आगामी महिना हुने राष्ट्रपतीय निर्वाचनका लागि शुक्रबार आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यसअघि, सन् २०२५ मा चुनाव हुनेगरी तय भएको निर्वाचन मे १९ मा राईसीको निधन भएपछि सरेको थियो ।

गृह मन्त्रालयले बिहीबार देखि जुन २८ मा हुने प्रारम्भिक मतदानका लागि उम्मेदवारहरूको दर्ता सुरु गरेको छ र राष्ट्रपतिपदका आकाङ्क्षीहरूले सोमबारसम्म आवेदन दिन सक्नेछन् ।

इरानको विदेश नीतिबारे तुलनात्मक रूपमा नरम मानिएका ६६ वर्षीय लारिजानीले शुक्रबार बिहान आफ्नो निवेदन दिएको सरकारी टेलिभिजनले प्रसारण गरेको फुटेजमा उल्लेख छ ।

उहाँले आफू निर्वाचित भएमा अमेरिकी प्रतिबन्धको समस्या समाधान गर्ने र देशको अर्थतन्त्रमा सुधार ल्याउने आफ्नो ‘प्राथमिकता’ रहेको बताउनुभएको छ ।

यद्यपि, इरानमा राष्ट्रपतिपदका सबै आकाङ्क्षीहरूजस्तै उहाँको उम्मेदवारीलाई पनि १२ सदस्यीय न्यायविद्हरूको निकाय ‘गार्जियन काउन्सिल’ले अनुमोदन गर्नुपर्छ ।

सन् २०२१ को चुनावअघि परिषद्ले अयोग्य घोषित गरेका केही सुधारवादी र उदारवादी उम्मेदवारमध्ये लारिजानी पनि एक हुनुहुन्छ ।

उक्त निर्वाचनमा ४८.८ प्रतिशत मात्र मतदान भएको थियो ।

लारिजानीले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरमा काम गरिसक्नुभएको छ र तीन दशकभन्दा बढी समयदेखि इरानका विभिन्न महत्वपूर्ण पदमा रहेर काम गरिसक्नुभएको छ ।

उहाँले सन् २००० को दशकको सुरुमा पश्चिमा मुलुकसँग इरानको आणविक वार्ताको निरीक्षण गर्नुभएको थियो तर इरानका प्रसिद्ध पूर्वराष्ट्रपति महमुद अहमदीनेजादसँग ‘गम्भीर मतभेद’ भएको भन्दै दुई वर्षपछि राजीनामा दिनुभएको थियो ।

तेहरान र विश्व शक्तिराष्ट्रहरूबीच सन् २०१५ मा भएको आणविक सम्झौतालाई समर्थन गरेका तीन पटक संसदका सभामुख रहेका लारिजानीले दर्शनशास्त्रमा विद्यावारिधि गर्नुभएको छ र उहाँ इस्लामिक गणतन्त्रको लिपिकीय नेतृत्वसँग सम्बन्ध भएका प्रभावशाली परिवारमा जन्मिनुभएको हो ।

गत बिहीबार अर्का पूर्व आणविक वार्ताकार कट्टरपन्थी सइद जलिलीले राष्ट्रपतिपदको उम्मेदवारका रूपमा नाम दर्ता गराउनुभएको थियो ।

एएफपी

Facebook Comments