Thu. Sep 19th, 2024

नेकपा सांसदलाई संसदमा स्पष्ट एकरुपता देखाउन प्रमको निर्देशन

काठमाडौं, २०७७ बैशाक २७ गते शनिबार

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् अधिवेशनमा सक्रिय समझदारीपूर्ण अघि बढ्न पार्टीका सबै सांसदलाई अनुरोध गर्नुभएको छ । शुक्रबार पार्टीका सांसदहरूलाई लिखित निर्देशन दिँदै उहाँले एकताबद्ध प्रयासका साथ अघि बढ्न पनि आग्रह गर्नुभएको छ ।

गोरखापत्र अनलाईनका अनुसार सङ्घीय संसद्को छैटौँ अधिवेशन प्रारम्भ हुनुअघि पार्टी संसदीय दलको बैठक बस्न नसकेको कारण प्रधानमन्त्री ओलीले सांसदलाई लिखित अनुरोध गर्नुभएको हो । संसद्को दुवै सदनका बैठकहरू छोटा छरिता र मर्यादित एवं विषय केन्द्रित हुनुपर्ने भन्दै उहाँले सदनमा दलका एकता र विषयगत एकरूपता देखिनुपर्नेमा ध्यानाकर्षण गराउनुभएको छ ।

नेकपा संसदीय दलका नेतासमेत रहनुभएका प्रधानमन्त्री ओलीले छलफलका औचित्य, आवश्यकता र सम्भावना हेरी साना भेटघाट आयोजना गरिने जानकारी दिनुभएको छ । राष्ट्रिय परिस्थितिअनुरूप संसद् सुरु हुनुअघि पार्टी संसदीय दलको बैठक बस्न नसकिएको प्रसङ्ग उल्लेख गर्नुभएको छ ।

निर्देशनमा उहाँले कोरोना भाइसरबाट बच्न सामाजिक दूूरी कायम गर्नुपर्नेलगायतका स्वास्थ्यसम्बन्धी विश्व स्वास्थ्य सङ्गठन, स्वास्थ्य मन्त्रालय र चिकित्सकहरूको सुझाव पनि उल्लेख गर्नुभएको छ । लिखित निर्देशनमा तोकिएको मापदण्ड अनुसार सिट व्यवस्थापनलगायतका आवश्यक तयारी गर्न सम्भव नभएकोले बैठक हुन नसकेको जानकारी गराइएको छ । यद्यपि संसद्को बैठक बस्नुअघि प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो ।

Facebook Comments