Thu. Sep 19th, 2024

बाबुरामद्वारा संसदमै प्रधानमन्त्री ओलीको राजीनामा माग

काठमाडौं, २०७७ बैशाक २७ गते शनिबार

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदमै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्नु भएको छ । संघीय संसदको बजेट अधिवेशनको पहिलो दिन शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उहाँले जीर्ण शरीरलाई आराम दिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।

अनलाईन खवरका अनुसार राजनीतिक दल फुटाउने र संवैधानिक परिषदमा विपक्षी दलको नेता नभए पनि निर्णय गर्न सक्ने गरी सरकारले ल्याएको अध्यादेश लोकतन्त्रविरोधी हर्कत भएको भन्दै उहाँले ‘फिर्ता लिइहाल्यो, भइहाल्यो भन्ने अवस्था नरहेको बताउनु भयो ।

सांसद अपहरण प्रकरणमा प्रधानमन्त्री वा निकटस्थ संलग्न भएको र उनीहरुविरुद्ध जाहेरीसमेत नलिएको उहाँले बताउनु भयो । भट्टराईले भन्नुभयो, ‘उल्टै हामीमाथि नै मुद्दा लगाउने र परोक्ष र प्रत्यक्ष ढंगले फच्चे गर्न पहल गर्ने र ?’

प्रधानमन्त्रीबाट लोकतन्त्रविरोधी गम्भीर गतिविधि भएको भन्दै उहाँले नैतिकताका आधारमा राजीनामा दिन आग्रह गर्नुभयो । ‘प्रधानमन्त्रीसँग मेरो आग्रह छ, जुन उचाईमा पुग्नुभएको छ । त्यही रहनुस्’ उहाँले भन्नुभयो, ‘तपाईले अनावश्यक ढंगले यस्ता गतिविधिमा संलग्न हुँदा आफैंमाथि अन्याय भएको छ । रोगले जीर्ण भएको शरीरलाई तपाईले आराम दिनुपर्छ । लोकतन्त्र र आफैं छविलाई बचाउन तपाईले राजीनामा दिनु नै उपयुक्त हुन्छ ।’

ओलीको विकल्प के हुन्छ भन्ने प्रश्न उठ्ने भन्दै उहाँले पूर्वप्रधानमन्त्रीहरुले दाबेदार नबन्ने प्रस्ताव गर्नुभयो । ‘६०र६५ उमेर कटेकाहरु प्रत्यक्ष कार्यकारीको भूमिकामा नरहने, प्रधानमन्त्रीको दाबेदार नबन्ने र हामीले नयाँ पुस्तालाई अगाडि ल्याउने दिशातिर गयौं भने देशले निकास पाउँछ । लोकतन्त्र सुदृढ हुन्छ’ उहाँले भन्नुभयो ।

प्रतिस्पर्धासँगै न्यूनतम राष्ट्रिय सहमति कायम गरेर अगाडि बढ्नुपर्ने भन्दै उहाँले कांग्रेस, कम्युनिस्ट, पहिचानवादी शक्तिहरुबीच मेलमिलाप कायम गर्न आग्रह गर्नुभयो । ‘तर तपाईहरुको सरकार गिरोस्, फेरि च्याखे थापेर सरकारमा जाउँ भन्ने मनसाय छैन । तपाईहरुले आफ्नै पार्टीका असल मान्छेहरुलाई अगाडि बढाउनुस् । पाँच वर्षलाई जनताले जनादेश दिएका छन् । त्यहाँ हाम्रो दाबी हुँदैन’ उहाँले भन्नुभयो, ‘तर महत्वपूर्ण राष्ट्रिय मुद्दामा मेलमिलाप कायम गरेर जाऊँ ।’

यसका लागि टीकापुर घटनामा दोषी ठहर भएर निलम्बनमा रहेका सांसद रेशम चौधरीको मुद्दा फिर्ता लिन र नेत्र विक्रम चन्द विप्लव समूहलाई क्षमादान दिएर सहमतिमा ल्याउन पूर्वप्रधानमन्त्री डा. भट्टराईले आग्रह गर्नुभएको छ ।

Facebook Comments