Fri. Apr 26th, 2024

साहसी बाबु :जसले चितुवासँग लडेर छोरालाई बचाए

तनहुँ,२०७७ बैशाक २५ गते बिहीबार

तनहुँका एक साहसी बाबुले छोरालाई आक्रमण गर्न आएको चितुवासँग लडेर छोरालाई बचाउने मात्रै नभई नरभक्षी चितुवालाई मार्न समेत सफल हुनु भएको छ । भानु नगरपालिका–४ चुँदीकुमाल गाउँमा पूर्व सैनिक ३६ वर्षिय रामबहादुर कुमालले छोरालाई झम्टिन आएको चितुवालाई छेकेर छाेराकाे उद्धार गर्नुभएको हो । चितुवाको आक्रमणबाट कुमाल पनि घाईते हुनुभएको छ । करीव ३ वर्षको र २० किलो ताैलको चितुवा र कुमाल तथा उहाँको परिवारसँग भिडन्त हुँदा मारिएको र छोराको सकुशल उद्धार भएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिनुभयो ।

कुमालको १२ वर्षको छोरो समिर कुमाललाई आक्रमण गर्न चितुवा जाइलाग्ने क्रममा भिडन्त भएको थियो । मेरो पछि, पछि आएको छोरालाई चितुवाले आक्रमण गर्न चितुवा दौडेर आएको देखें, मैले छेक्कटाे काटेर चितुवालाई रोकें कुमालले भन्नुभयो, म चितुवासँग लड्न नगएको भए छोरालाई झम्टिने थियो ।’ घाईते कुमालले व्यवसायिक रुपमा पाल्नु भएको कुखुरा फारामबाट बिहीबार विहान ४ बजे एक व्यक्तिले कुुुखुरा टिपेर भागेको देखेपछि चोरलाई कुमालले लखेट्दै जाँदा वन छेउको चिलाउनेको रुखमा लुकेर सबेको चितुवाले बालकलाई आक्रमण गर्न खोजे पछि दोहोरो भिडन्त भएको भानु नगरपालिकाको उपप्रमुख आशा थापाले जानकारी दिनुभयो ।

कुखुरा चोरलाई लखेट्ने क्रममा छोरा पनि बाबुको पछि पछि दौडदैं गएको स्थानीय वासिन्दाले जानकारी दिए । जङ्गलमा लुकेको चितुवासँग रामबहादुरलाई चिच्चाउँदै भिड्दै गरेको देखेपछि उहाँको दाजु र दुई भतिज पनि उहाँलाई बचाउन चितुवासँग भिड्न पुगेपछि चितुवा मारिएको स्थानीय बासिन्दा तथा भानु नगरपालिकाका नायव सुब्बा शङ्कर रानाभाटले जानकारी दिनुभयो ।

५३ वर्षीय भरत कुमाल र उहाँको दुई छोराहरु २२ वर्षीय टिकाराम कुमाल, २० वर्षको सीताराम कुमाल मिलेर रामबहादुरलाई आक्रमण गरेको नरभक्षी चितुवालाई मार्न सफल भएको उहाँले जानकारी दिनुभयो । रानाभाटका अनुसार चितुवाले आँ गरेको बेला भरत कुमालले मुखमा ढुङ्गा हालिदिएपछि दा¥हा भाँचिएकोले मार्न सहज बनेको हो । पछि पछि आएको रामबहादुरको छोरा समिरलाई चितुवाले आक्रमण गर्न खोजेपछि रोक्ने क्रममा चितुवाले आक्रमण गरेको र रामबहादुर बाहेक अन्य तीन जना भने सामान्य घाईते भएको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेले जनाएको छ । छोरालाई बचाउने मात्रै नभई नरभक्षी चितुवालाई मार्न सफल भएपछि कुमाल परिवारको सबैले प्रसंशा गरेको वडा अध्यक्ष पूर्णबहादुर लौडारीभाटले जानकारी दिनुभयो ।

भानु नगरपालिका क्षेत्रमा मात्रै दुई वर्षको अवधिमा नरभक्षी चितुवाको आक्रमणले गर्दा ६ जना बालबालिकाको मृत्यु भईसकेको अवस्थामा कुमाल परिवारले नरभक्षी चितुवालाई मार्न सफल भएकोले सबैले प्रशंशा गरेको उहाँ बताउनुहुन्छ । तनहुँमा दुई वर्षको अवधिमा नौ बालबालिकाको मृत्यु हुनुका साथै सात जना घाइते भएको डिभिजन वन कार्यालयका सूचना अधिकृत बाबुराम उप्रेतीले जानकारी दिनुभयो । सामुदायिक वनको संयुक्त प्रयासमा जिल्लाको विभिन्न ठाउँमा गरी १६ वटा खोर निर्माण गरी राखेर चितुवाको पासो थापिएको उहाँले जानकारी दिनुभयो । सातवटा चितुवा ति पासोमा परिसेका कार्यालयले जनाएको छ । घाईते कुमालको हातमा चितुवाले चिर्थोनुका साथै नङ्ग्रा गाडेको छ । घाईते कुमालको डुम्रे स्थित मोती मेडिकल हलमा प्राथमिक उपचार गरी गण्डकी अस्पताल पोखरामा थप उपचार भईरहेको प्रहरीले जनाएको छ । घाईते कुमालको स्वास्थ्य सुधार हुँदै गईरहेको डिभिजन वन प्रमुख बरालले जानकारी दिनुभयो । यस अघि चैत्र ४ गते तनहुँको शुक्लागण्डकी नगरपालिका–३ वनकेवाकी इन्दिरा न्यौपानेले पनि चितुवासँग डलेर छोरालाई बचाउन सफल हुनु भएको थियो । गोरखापत्र अनलाईनबाट

Facebook Comments