Mon. Jan 13th, 2025

चिनियाँ पाहुनालाई इलामको चियाको स्वाद लिन पर्यटनमन्त्री तामाङको आग्रह

हित बहादुर तामाङ, मन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन

काठमाण्डू, २०८१ जेठ ८ गते मंगलबार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङले नेपाल भ्रमणमा रहेको चीनको आन्हुई प्रान्तका पाहुनाहरुलाई इलामको चियाको स्वाद लिन र इलामका चिया बगानहरुको भ्रमण गर्न आग्रह गर्नुभएको छ ।

चीनको आन्हुई प्रान्तको चियाको स्वाद लिनुहुँदै मन्त्री हित बहादुर तामाङ र नेपालका लागि चनियाँ राजदूत छन् सोङ, फोटो : रमेश हतुवाली

अन्तर्राष्ट्रिय चिया दिवस, २०२४ को उपलक्ष्यमा काठमाण्डूमा “सद्भावनाको लागि चिया : याची साँस्कृतिक कार्यक्रम तथा नेपालमा आन्हुई सांस्कृतिक पर्यटन प्रवर्द्धन कार्यक्रम”को प्रमुख अतिथीको रुपमा सहभागी हुँदै मन्त्री तामाङले आज सो आग्रह गर्नुभएको हो ।

चाईना इन्टरनेस्नल कल्चर एशोसिएशन, नेपालस्थित चिनियाँ राजदूतावास, चीनको आन्हुई प्रान्तस्थित साँस्कृतिक तथा पर्यटन विभाग, चिनियाँ साँस्कृतिक केन्द्र नेपाल र नेपालस्थित चिनियाँ राष्ट्रिय पर्यटन कार्यालयको सयुक्त आयोजनामा भएको सो कार्यक्रममा बोल्नुहुँदै मन्त्री तामाङले भन्नुभयो, “हाम्रो नेपालको इलामका चिया बगानहरु पनि जति रमणीय छन् चिया पनि उच्च गुणस्तरको भएको जानकारी गराउँदछु । अनि चिनियाँ मित्रहरुलाई यताको चियाको स्वाद लिनुको साथै ति क्षेत्रहरुको भ्रमण गर्न पनि अनुरोध गर्दछु ।”

मन्त्री तामाङले आन्हुई प्रदेश चीनको मौलिक कलाकृति र संस्कृतिमा विश्व प्रसिद्ध हुनुको नाताले यूनेस्को हेरिटेजमा सूचीकृत लोकप्रिय पर्यटकीय गन्तव्य भएको थाहा पाउँदा खुशी लागेको बताउनुहुँदै आन्हुई प्रान्तको चिया पनि विश्व प्रख्यात भएको थाहा पाउँदा यसैक्षेत्रसँग दुवै देशले मिलेर धेरै काम गर्न सकिने बताउनु भयो ।

चीनको आन्हुई प्रान्तको चियाको जानकारी लिनुहुँदै मन्त्री हित बहादुर तामाङ साथमा नेपालका लागि चनियाँ राजदूत छन् सोङ, फोटो : रमेश हतुवाली

मन्त्री तामाङले छिमेकी देश चीन र नेपालबीच संस्कृति र पर्यटन विकासमा आपसी सहकार्य र सहयोगको विशाल सम्भावना रहेको उल्लेख गर्नुहुँदै यसलाई यसरी नै जनस्तरसम्म विस्तार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

आनहुई  प्रान्त संस्कृति तथा पर्यटन विभागका उपमहानिर्देशक वाङ् चिङ्को नेतृत्वमा उच्चस्तरीय प्रतिनिधी मण्डल नेपाल भ्रमणमा रहेको छ ।

मन्त्री तामाङको सम्बोधनको पूर्ण पाठ

यो कार्यक्रमको नाम नै कति आकर्षक र सुन्दर छ जसको नामले नै मित्रतापूर्ण सन्देश दिएको छ । म आफैं नेपालको संस्कृति र पर्यटन मन्त्री भएको नाताले यो विषय र शीर्षकले रमाईलो तरिकाले विशेष ध्यान आकर्षित भएको छ । फेरि यो आन्हुई प्रदेश चीनको मौलिक कलाकृति र संस्कृतिमा विश्व प्रसिद्ध हुनुको नाताले यूनेस्को हेरिटेजमा सूचीकृत लोकप्रिय पर्यटकीय गन्तव्य भएको थाहा पाउँदा खुशी लाग्यो । आन्हुई प्रान्तको चिया पनि विश्व प्रख्यात भएको थाहा भयो ।  

हाम्रो नेपालको इलामका चिया बगानहरु पनि जति रमणीय छन् चिया पनि उच्च गुणस्तरको भएको जानकारी गराउँदछु । अनि चिनियाँ मित्रहरुलाई यताको चियाको स्वाद लिनुको साथै ति क्षेत्रहरुको भ्रमण गर्न पनि अनुरोध गर्दछु । यहाँ मित्रहरुलाई पनि जानकारी छ, हाम्रो नेपालको कला, संस्कृति र प्राकृतिक सौन्दर्य पनि विश्व प्रसिद्ध छन् । त्यसैले यहाँ पर्यटन विकासको अपार सम्भावना छ । 

तसर्थ छिमेकी मित्र राष्ट्र चीन र नेपालबीच यस्तै संस्कृति र पर्यटन विकासमा आपसी सहकार्य र सहयोगको विशाल सम्भावना छ । यसलाई यसरी नै जनस्तरसम्म विस्तार गर्दै लैजाउँ । 

नेपाल र चीनबीचमा ऐतिहासिक कालदेखि नै हाम्रा पुर्खाहरु नेपालकी राजकुमारी भृकुटी र कलाकार अरनिको को विरासत र चीनका महान बौद्ध भिक्षुहरु स्वान चाङ र फा स्यान आदिको लुम्बिनी भ्रमणका अभिलेखहरु मित्रवत सम्बन्धका महत्वपूर्ण पुँजीहरु हुन् । यसलाई आज र भोलिका दिनहरुमा अझ प्रगाढ र विस्तार गर्न महामहिम लगायत विशिष्ठ मित्रहरुलाई आह्वान गर्दछु । धन्यवाद

Facebook Comments