Sat. Dec 28th, 2024

राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप   

काठमाण्डू,२०८१ जेठ ७ गते सोमबार । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा विभिन्न पाँच खेल थप गरेको छ ।

मिसन-२०२६ अन्तर्गत दोस्रो चरणमा पाँच खेल थप गरिएको हो । पहिलो चरणमा पनि पाँचै खेल समावेश थिए । मिसन-२०२६ अन्तर्गत पहिलो चरणको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकका लागि आज यहाँ आयोजित उत्प्रेरणा कार्यक्रममा राखेपका सदस्य-सचिव टङ्कलाल घिसिङले थप गरिएका खेलहरुमा महिला कबड्डी, महिला भलिबल, भारोत्तोलन, कुस्ती र एथलेटिक्स रहेको बताउनुभयो । ५२ खेलाडी र १० प्रशिक्षकलाई दोस्रो चरणमा समावेश गरिएको छ । कबड्डी र भलिबलमा समान १२-१२ खेलाडीले स्थान पाएका छन् । भारोत्तोलन र कुस्तीमा समान पाँच-पाँच तथा एथलेटिक्समा समान चार-चार पुरुष/महिला खेलाडीलाई समावेश गरिएको छ ।

पहिलो चरणमा कराते, तेक्वान्दो, उसु, जुडो र बक्सिङका ५० खेलाडी र १० प्रशिक्षक तयारी प्रशिक्षणमा छन् । जापानमा हुने २०औँ एसियाली खेलकुदलाई केन्द्रमा राखेर त्यस अगाडि हुने विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेत दृष्टिगत गरी राखेपले २०८० साल माघ १५ देखि मिसन-२०२६ अन्तर्गत पहिलो चरणमा पाँच खेल समावेश गर्दै राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणको सुरुआत गरेको थियो ।

एसियाली खेलकुदपछि अर्को संस्करण लागि राखेपले लगत्तै लामो तयारी थालेको पहिलोपटक हो ।

सदस्य-सचिव घिसिङले छोटो तयारीले खेलाडीबाट ठूलो उपलब्धिको अपेक्षा गर्नु जायज नहुने भएकाले १९औँ एसियाली खेलकुदपछि स्वर्णसहित दोहोरो अङ्कमा पदक जित्ने लक्ष्यसहित राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण सुरु गरिएको बताउनुभयो ।

नायक राजेश हमालको उपस्थितिमा भएको उत्प्रेरणा कार्यक्रममा सदस्य-सचिव घिसिङले भन्नुभयो, “आजको कार्यक्रम महानायक राजेश हमालको उपस्थितिमा भइरहेको छ । हामी पनि एसियाली खेलकुदमा हाम्रो लक्ष्य पूरा गर्ने नायकहरु खोजिरहेका छौँ । तपाईंहरु (खेलाडी) मध्येबाट नै हामीले खेलकुदको नायक पाउने छौँ भन्ने मलाई पूर्ण विश्वास छ ।”

उत्प्रेरणा कार्यक्रममा नायक हमालले विगतको कमीकजोरीबाट पाठ सिकेर तयारीलाई अझ परिस्कृत गर्नुपर्ने बताउँदै खेलाडीले जस्तोसुकै चुनौती पनि पार गर्न सक्छु भन्ने आत्मविश्वास पैदा गर्न सक्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले विगतमा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि हुने छोटो अवधिको तयारीको अन्त्य गर्दै विगतको भन्दा राम्रो उपलब्धि हासिल गर्न सदस्य-सचिवले चाल्नुभएको कदमको प्रशंसा गर्दै एसियाली खेलकुदमा आफूले जित्न नसकेको स्वर्ण अहिलेको विशेष प्रशिक्षणमा रहेका खेलाडीले जित्ने विश्वास व्यक्त गर्नुभयो ।

उत्प्रेरणा कार्यक्रममा पहिलो चरणको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई किट्स पनि प्रदान गरिएको थियो । डा. ज्ञानेन्द्र शाहले खेलाडी र प्रशिक्षकलाई डोपिङसम्बन्धी विविध पक्षबारे जानकारी गराउनुभएको थियो । रासस

Facebook Comments